काठमाडौं– नेपाली चलचित्र ‘मारूनी’ले विदेश प्रदर्शनी यात्रा सुरु गर्ने भएकाे छ। नवल नेपालद्वारा निर्देशित उक्त चलचित्र नेपालमा समिक्षात्मक र व्यापारिक रुपमा सफल भएको थियाे।
यस चलचित्रले जापानबाट आफ्नो विदेश प्रदर्शन सुरु गर्न लागेको हो। यही नोभेम्बर ३० तारिकमा जापानमा चलचित्रको शो गरिने निर्मात्री पुनम गौतले बताएकी छिन्। उनले भनिन, ‘३० तारिकमा जापानको नागोयामा चलचित्र प्रदर्शन हुनेछ। डिसेम्बर ७ मा ओसाका र त्यसको केही दिनमा नै टोकियोमा पनि चलचित्र प्रदर्शन हुन्छ।’
निर्माता पूनमसँग र नायक पुष्प खड्का पनी चलचित्र प्रदर्शनका लागी जापान पुग्नेछन्। जापान प्रदर्शनीको आयोजकमा शर्मिला डंगोल र विनोदकुमार सापकोटा पनी छन्। जापानको रिलिजपछि चलचित्र लिएर निर्माता पूनम विभिन्न देश पुग्ने योजनामा छिन्।
अहिलेसम्म अष्ट्रेलिया, अमेरिका, लण्डनलगायत देशहरुमा चलचित्रको प्रदर्शन पक्का भइसकेको गौतमले बताएकी छिन्। तेस्रो लिङ्गीको कथालाई प्रस्तुत गरेर यस चलचित्र निर्माण गरीएको हो। यस चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ लगायतको कलाकारको मुख्य भूमिका रहेको छ। यो चलचित्रलाई संजय लामाले खिचेका हुन्।