एजेन्सी– नेपालको झापा हुँदै गाईगोरु तस्करी गरेर भारत तथा नजिकको तेस्रो मुलुक बाङ्लादेशसम्म पुर्याइने गरिएको नेपाल प्रहरीका अधिकारीहरूले बताएका छन्। नवलपरासीबाट झापा हुँदै भारततिर लाँदै गरिएका ४९ वटा गोरु गत मङ्गलवार प्रहरीले झापाको सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको छ।
पूर्वी नेपालबाट गाईगोरु भारततिर लैजाँदा दुईवटा मुलुकमा सहजै बिक्री गर्न सकिने भएकाले तस्करी गर्नेहरूले पूर्वी नेपालका दक्षिणी नाका रोज्न थालेको अधिकारीहरू बताउँछन्। भारतको उत्तर प्रदेश तथा बिहार राज्यले गाईगोरु ओसारपसार तथा वध गर्न प्रतिबन्ध लगाएको छ। तर तस्करहरूले झापासँग जोडिएको पश्चिम बङ्गाल राज्यतिर तस्करी गरिरहेको प्रमाण नेपाल प्रहरीले भेटेको छ।
कुन बाटो हुन्छ तस्करी?
अहिलेसम्म झापाका बनियानी, पथरिया, भद्रपुर तथा कुमरखोद नाकाबाट प्रहरीले गाई तथा गोरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।वैशाख महिनायता १९० वटा गाईगोरु झापाबाट भारततिर लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
उनले भने, “अहिले गृह मन्त्रालयले पनि गाईगोरुको तस्करी नियन्त्रणका लागि कडा आदेश दिएको छ। हामीले २७ वटा पोस्टमा निगरानी बढाएका छौँ।’’
उत्तर प्रदेश र बिहारमा गाईगोरु ओसारपसार गर्न कडाइ गरिएकाले तस्करहरूले पूर्वी नेपालका दक्षिणी नाका प्रयोग गर्न थालेको नेपाल प्रहरीका अधिकारीहरूको भनाइ छ। पूर्वी नेपालको सीमा पश्चिम बङ्गालसँग जोडिएको छ। इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन थापाका पश्चिम नेपालका विभिन्न स्थानबाट ल्याइएका गाईगोरु पुर्याइने अन्तिम गन्तव्य बाङ्ग्लादेश नै हो।
उनले भने, “नेपालका विभिन्न स्थानबाट ल्याइएका गाईगोरु तस्करी गरेर बाङ्लादेशसम्म पुर्याइने गरिएको भन्ने बुझिएको छ।’’ ती गाईगोरु बाङ्ग्लादेशमा मासुका लागि तस्करी हुने नेपाली अधिकारीहरूको ठम्याइ छ।
नियन्त्रण गर्न कति गाह्रो?
नेपालमा आन्तरिक उपयोगका लागि गाईगोरु ओसारपसारमा कुनै रोक नलगाएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताए। उनले भने, “देशभरि ल्याउन लैजान सरकारले रोक्दैन। तर देशबाहिर लैजानका लागि प्रहरीले कुनै हालतमा दिँदैन।’’
कानुनले बन्देज लगाएको गतिविधि प्रहरीले रोक्ने उनले बताए।
तर विभिन्न स्थानमा खुला सिमानाका कारण बस्तुभाउ चर्दै पनि नेपालतिर आउने भएकाले गाईगोरुको आवागमनमा पूर्ण नियन्त्रणमा कठिनाइ भएको देखिन्छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठ भन्छन्,“खुला सिमाना छ। कति बेला तस्करले मौका छोप्छन् भन्ने पत्ता लगाउन नै गाह्रो छ।’’
बाङ्लादेश लैजान कति सजिलो?
नेपाल र भारतबीचको खुला सीमा भएकाले नेपालका गाईगोरु भारततिर तस्करी गर्न सहज भए पनि भारत र बाङ्लादेशबीच खुला सीमा नभएकाले त्यति सहज नभएको नेपाली तथा भारतीय अधिकारीहरू बताउँछन्। तर सीमा क्षेत्रका नेपाल र भारतका अधिकारीहरुको बैठकमा गाईगोरु तस्करीको विषय ‘कमन अजेन्डा’ हुने गरेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रेशम थाम्सुहाङले बताए।
उनले भने, “यो विषय बैठकमा नउठ्ने भन्ने कुरै हुँदैन।’’उनले भारतीय तथा नेपाली अधिकारीहरूले उक्त तस्करी नियन्त्रणको प्रतिबद्धता व्यक्त गर्ने गरिएको बताए। तर भारत र बाङ्लादेशको सीमामा बार भए पनि भारतबाट गाईगोरु बाङ्ग्लादेश लैजाने गरिएका घटना हुने गरेको भारतीय सीमा अधिकारीहरूको भनाइ छ।भारतीय सशस्त्र सीमा सुरक्षा बल ८ नम्बर बटालियनका कमान्डर अरुणकुमार सिंहका अनुसार सुरक्षा व्यवस्थाका हुँदाहुँदै पनि तस्करीका घटना हुने गरेका छन्।उनले भने, ‘‘पूर्ण रूपमा नियन्त्रण गर्न त समस्या नै छ हामीकहाँ पनि। तर बाङ्लादेशतिर तस्करी गर्न चाहिँ त्यति सहज छैन।’’
के छ कानुनी व्यवस्था?
नेपालमा गोवध प्रतिबन्धित छ।मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद –२७ मा पशुपक्षीसम्बन्धी कसुरबारे उल्लेख छ। उक्त संहिताको दफा २८९ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनुहुँदैन। त्यस्तो काम कारबाहीबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ।
गाई वा गोरुलाई कुटेर अङ्गभङ्ग पार्ने व्यक्तिलाई छ महिनासम्म कैद र अन्य चोट पुर्याएमा ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ। उक्त कानुनले पशुपक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ वा सामर्थ्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रूर व्यवहार गर्न दिँदैन। त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।
चौपाया ओसारपसारसम्बन्धी के व्यवस्था छ?
पशु ढुवानी मापदण्ड, २०६४ ले चौपाया ढुवानी गर्दा के गर्नुहुन्छ के गर्नुहुँदैन त्यो तोकेको छ। ढुवानी गर्दा पशुलाई कुनै किसिमको पीडा हुनु नहुने र हुने अवस्था सिर्जना हुन गएमा पशुप्रति असावधानी व्यवहार भएको ठहरिने व्यवस्था उक्त मापदण्डले गरेको छ। मापदण्डले ढुवानी गर्दा पशुलाई गाडीमा अस्वाभाविक रूपमा शरीर, नाकेडोरी, पुच्छर वा खुट्टा बाध्नु नहुने तथा कोचेर राख्नु नहुने स्पष्ट रूपमा खुलाइएको छ।
आन्तरिक ओसारपसार गरिने पशुको स्वास्थ्य जाँचको प्रमाणपत्र हुनुपर्ने, आकस्मिक उपचारको लागि प्राथमिक उपचार सामग्री ढुवानी साधनमा रहनुपर्ने, प्रत्येक गाडीमा पशु पठाउने र पाउनेको नाम, ठेगाना, पशुको जात तथा सङ्ख्याको विवरण प्रष्ट देखिनेगरी टाँसिएको हुनुपर्ने, पशु लोड गरिएको गाडीको विवरण र गन्तव्य स्थानमा पुग्ने समय, पशु पाउने पक्षलाई अग्रीम जानकारी गराउनुपर्ने व्यवस्था छ।तर गाडीमा चौपायालाई निर्दयी तरिकाले ल्याइने गरिएको प्रहरी अधिकारीहरूको भनाइ छ। बीबीसी