काठमाडौ– सर्वपक्षीय बैठकमा सहभागी नेताहरुले कालापानी नेपालको हो भन्नेमा कुनै विवाद नभएको तर अहिले भारतले आफ्ना नक्सामा समावेश गरेको भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाव दिएका छन्।
भारतले जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुरालाई भारततर्फ देखाएको छ। भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ। सरकारले पनि लिपुलेक नेपाली भूभाग भएकाले एकपक्षीय रुपमा जारी भएको भारतीय नक्सा स्वीकार नगर्ने जनाएको छ।
सर्वपक्षीय बैठकमा सहभागी पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, सीमाविद, परराष्ट्रविद तथा विभिन्न राजनीतिक दलका भारतसँग वार्तामार्फत समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए।
नेपाली भूमि फिर्ताका लागि तत्काल पहल गर्न सत्तारुढ नेकपाकै नेताहरुसहित प्रमुख विपक्षी कांग्रेस लगायतका दल र विद्यार्थी संगठनहरुले दबाब दिइरहेका छन्। बैठकमा नेताहरुले वक्तव्यवाजी मात्रै गरेर नहुने भन्दै सरकारले तत्काल उच्चस्तरीय बैठक मार्फत नै समस्या समाधानको बाटो खोज्नु पर्ने बताए।
सरकारले लिएको अडान सही भएको नेताहरुको भनाई छ। भारतले किन यस्तो र्गयो भनेर नेपालले सोध्नुपर्ने बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्री एवं राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताए।
बैठकका प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी लगायतका भूमि नेपालको भएको बताए। उनले महाकाली नदी पूर्वका हाम्रा सबै भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नु पर्ने बताए। यसमा कांग्रेसको साथ रहने उनको भनाई छ।