एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले सेल्टा डि भिगोमाथि प्रभावशाली जित निकालेको छ। बार्सिलोनालाई ४–१ जित दिलाउन कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेका थिए। बार्सिलोनाको घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा मेस्सीले एक गोल पेनाल्टीमा र दुई गोल फ्रिकिकमा गरेका थिए।
बार्साको लागि सर्जियो बुस्केट्सले थप एक गोल गरेका थिए भने सेल्टाका लुकास ओलाजाले एक गोल गरे। सेल्टाका जासेफ आइडोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि खेलको २३ औं मिनेटमा बार्सिलोनाले पेनाल्टीमार्फत अग्रता बनाएको थियो। बार्साका लागि मेस्सीले पेनाल्टी गोल गरेका थिए।
तर खेलको ४२ औं मिनेटमा सेल्टाका ओलाजाले फ्रिकिकमार्फत गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए। पहिलो हाफमो इन्ज्युरी समयमा मेस्सीले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाए। दोस्रो हाफको ४८औं मिनेटमा मेस्सीले पुनः फ्रिकिकबाटै प्रभावशाली गोल गर्दै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले खेलमा ३–१ को अग्रता बनायो।
त्यस्तै खेलको ८५ औं मिनेटका सर्जियो बुस्केटले गोल गर्दा बार्सिलोना ४–१ गोलअन्तरले विजयी भयो। जितसँगै बार्सिलोना १२ खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। समान २५ अंक रहेपनि रियाल म्याड्रिड गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ।