एजेन्सी– जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखसँग बोरुसिया डर्टमन्ड फराकिलो अन्तरले पराजित भएको छ। शनिबार राति भएको खेलमा डर्टमन्डले घरेलु टोली बायर्नसँग ४–० को लज्जास्पद हार बेहोरेको छ।
बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई र सर्ज जिनाब्रीले एक गोल गरे भने डर्टमन्डले एक आत्मघाति गोल खाएको थियो। बार्यनले खेलको १७ औं मिनेटमा अग्रता बनाएको थियो। उसका लागि बेन्जामिन पाभर्डको पासमा लेवान्डोस्कीले गोल गरेका थिए। पहिलो हाफमा एक गोलले अघि बढेको बार्यनले दोस्रो हाफमा २ गोल गरेको थियो।
दोस्रो हाफको ४७ औं मिनेटमा मा सर्जी जिनाब्रीले गोल गर्दा बार्यनले अग्रता दोब्बर बनायो। उनले थोमस मुलरको पासको सदुपयोग गरेका थिए। त्यस्तै ७६ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्यनले ३–० को अग्रता लिएको थियो। खेलको ८० औं मिनेटमा म्याट हमेल्सले आत्मघाती गोल गरेपछि बार्यनले डर्टमन्डलाई ४–० को नमिठो हार चखाएको थियो।
यस जितसँगै बायर्न ११ खेलबाट २१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। पराजित डर्टमन्डले डर्टमन्ड १९ अंकसहित पाँचौ स्थानमा । एक खेल कम खेलेको बोरुसिया मोन्चेनग्लाडवाच २२ अंकसहित शीर्षस्थानमा छ।