एजेन्सी — अस्ट्रेलियाको क्विन्सल्याण्ड र न्यू साउथ वेल्समा लागेको डढेलोका कारण हजारौं हेक्टर जंगल नष्ट भएको छ।
डढेलोमा परी हालसम्म तीनजनाको मृत्यु भएको छ भने हजारौं मानिस विस्थापित भएका छन्। अहिलेसम्म १०० भन्दा बढी स्थानमा डढेलोको प्रकोप देखिएको छ। सुख्खा स्थानमा लागेको आगोका कारण तापक्रम ह्वाट्टै बढेको बताइएको छ।
डढेलो नियन्त्रणका लागि हाल करिब १३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले आगो नियन्त्रण गर्न सेना परिचालन गर्न सकिने बताए। जंगली क्षेत्रमा बसोवास गर्दै आएका मानिसहरु फसिरहेको र उनीहरुको उद्दारका लागि टोली परिचालन गरिएको छ। उद्दारकार्यमा स्थानीयले पनि सहयोग गरिरहेका छन्।
अधिकारीहरुले मौसमको अवस्था अझै विकराल हुन सक्ने भन्दै थप स्थानमा आगो फैलिन सक्ने बताइएको छ।