एजेन्सी– इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेल हुँदैछ। साविकको विजेता म्यान्चेस्टर सिटीले साविकको उपविजेता तथा लिग लिडर लिभरपुलको सामना गर्दैछ।
उपाधि दाबेदार दुई ठूला टोलीको यो भिडन्त धेरैले प्रतिक्षा गरिरहेका छन्। जारी सिजनको लिग लिडर लिभरपुललको घरेलु मैदानमा हुने खेल राति १०ः१५ मा शुरु हुनेछ। आफ्नो घरमा हुने खेलमा सिटीलाई पराजित गरी लिभरपुल सिजनको अपराजित यात्रा जोगाउने तयारीमा छ भने लिभरपुललाई उसैको मैदानमा स्तब्ध पार्दै उसको अपराजित यात्रामा पूर्णविराम लगाइदिने तथा अंक तालिकामा आफूलाई थप बलियो बनाउने दाउमा सिटी रहेको छ।
आइतबार उक्त खेलमा दुबै टोलीले जितको लागि सबै खाले तयारी गरिरहेको बुझिएको छ। आफ्ना प्रमुख तथा मुख्य हतियार मानिएका खेलाडीहरुलाई मैदान उतारी एक अर्कालार्य कडा टक्कर दिने तयारी दुबै टिमको रहेको छ। अहिले अंक तालिकामा लिभरपुल शीर्षस्थानमा छ। उसले ११ खेलबाट ३१ अंक जोडेको छ भने सिटी २५ अंकको साथ चौथो स्थानमा छ।
अहिलेसम्म २ सय १३ खेलमा यी दुई टीमले एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका छन् जसमा लिभरपुल बलियो देखिएको छ। लिभरपुलले १ सय ४ खेल आफ्नो पक्षमा पारेको छ भने ५६ खेलमा हार बेहोरेको छ। ५३ खेल भने बराबरीमा सकिएको छ।