एजेन्सी– प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ। आइतबार सम्पन्न पहिलो खेलमा नेपालले अफगानिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
बंगलादेशमा जारी च्याम्पियनसिपमा उपाधि दाबेदार नेपालले कमजोर प्रतिद्धन्द्धी अफगानिस्तानलाई सहजै पराजित गरेको हो। नेपालले अफगानिस्तानलाई पहिलो सेटमा २५–४ ले, दोस्रो सेटमा २५–९ ले र तेस्रो सेटमा नेपालले २५–६ ले हराएको हो। जितसँगै नेपालले ३ अंक जोडेको छ । बंगलादेशले ३ तथा माल्दिभ्सले २ अंक जोडेको छ।
नेपालले सोमबार दोस्रो खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै मंगलबार आयोजक बंगलादेशसँग र बुधबार माल्दिभ्ससँग खेल्नेछ। च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, अफगानिस्तान, माल्दिभ्स र किर्गिस्तानले भाग लिएका छन्।
राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि नोभेम्वर १४ मा खेल्नेछ। सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ।