एजेन्सी- ह्वाट्स एपमा बुधबारमात्रै एउटा नयाँ अपडेट आएको छ। त्यसले ग्रुप म्यासेजमा प्रयोगकर्ताले भोगिरहेका समस्या केहि हदसम्म समाधान हुनसक्ने देखिन्छ। ह्वाट्सएपले अब प्रयोगकर्तालाई नै आफू कुन ग्रुपमा बस्ने वा नबस्ने निर्णय गर्न सक्ने सुविधा दिएको छ।
यसअघि जसले पनि जो कसैलाई ग्रुपमा जोड्न सकिने अवस्था थियो। त्यस्तोमा अनावश्यक ग्रुपमा जोडिनु पर्ने र त्यस्ता ग्रुपका अनावश्यक म्यासेजले हैरान पार्ने अवस्था थियो। त्यसलाई परिवर्तन गरेर अब कसलाई ग्रुपमा एड गर्न दिने, कुन ग्रुपमा बस्ने वा नबस्ने निर्णय प्रयोगकर्ताले स्वयम्ले नै लिन सकिने बनाइएको हो।
त्यसका लागि ह्वाट्सएपले प्राइभेसी सेटिङमा परिवर्तन गरेको छ। जहाँ प्रयोगकर्तालाई ग्रुपमा आफूलाई कसेले जोड्न सक्छ भनी छनोट गर्ने अप्सन दिइएको छ। त्यसमा आफ्नो मोबाइलमा भएको नम्बरबाट, जो सुकैले र अन्य कुनै गरी तीन ओटा अप्सन दिइएको छ। त्यसमध्ये तपाईंले कुनै एउटा छनोट गर्न सक्नुहुनेछ।
यति गरिसकेपछि कुनै अपरिचित व्यक्तिले तपाईलाई कुनै ग्रुपमा एड गर्न नसकिने समेत बनाउन सक्नुहुनेछ। कसैलाई ग्रुपमा एड गर्नु अघि सुरुमा रिक्वेस्ट पठाउनु पर्ने छ। रिक्वेस्टलाई एसेप्ट गर्ने वा नगर्ने भन्ने विषयको निर्णय रिक्वेस्ट प्राप्त गर्ने व्यक्तिको हुनेछ।