एजेन्सी- सामाजिक सञ्जाल फेसबुक स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले लाइकको संख्या लुकाउने आफ्नो परीक्षणलाई तिव्रता दिएको छ। यसैसातादेखि अमेरिकी प्रयोगकर्ता माझ यसको परीक्षण सुरु हुने कम्पनीले जनाएको छ।
इन्स्टाग्रामले यसअघि जापान, ब्राजिल र क्यानडाका सीमित प्रयोगकर्ता माझ यसको परीक्षण आरम्भ गरेको थियो। परीक्षणको नतिजा सकारात्मक आएको भन्दै कम्पनीले अमेरिकामा पनि यसको परीक्षण थाल्ने भएको हो। केही समयपछि विश्वभरका प्रयोगकर्ताको इन्स्टाग्राम लाइक संख्या लुकाउने कम्पनीको योजना छ।
अमेरिकामा इन्स्टाग्रामका १० करोड भन्दा बढी प्रयोगकर्ता छन्। लाइक संख्याले आफ्नो प्लेटफर्ममा सेलिब्रेटी र साधारण प्रयोगकर्ताबीच वर्ग छुट्याउने भन्दै इन्स्टाग्रामले लाइक संख्या नदेखाउने फिचरको परीक्षण सुरु गरेको हो।
आफ्नो पोष्टमा आएको लाइक तथा कमेन्ट संख्या प्रयोगकर्ताले हेर्न पाउने भए पनि अन्य प्रयोगकर्तालाई भने त्यो देखाइने छैन। यो फिचरले प्रयोगकर्तामाझ लाइक बढाउने अस्वस्थ प्रतिस्पर्धा नहुने कम्पनीको धारणा छ।