काठमाडौँ– नेपाल टेलिकमले पूर्वको बिर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ।
आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिम वितरण कार्य गरिएको र कात्तिक २६ गते नेपालगन्जको रामलिला मैदान, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गरिने कार्यक्रम रहेको छ।
यस अघि गत कात्तिक २० गते बिर्तामोड र २२ गते वीरगन्जमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन कार्य उत्साहजनक रुपमा सम्पन्न भईसकेको टेलिकमले जनाएको छ। यो विशेष अभियान अन्तर्गत ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन्।
कम्पनीले नवीनतम् प्रविधि सहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाहको शुभारम्भ गरे पश्चात् ग्राहकहरु माझ फोरजी सेवाको लोकप्रियता बढ्दै गइरहेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन्। गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका विभिन्न स्थानमा प्रतिष्ठित कलाकारहरुको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ्ग २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन गरिएको टेलिकमले जनाएको छ।