काठमाडाैं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एन–प्याब्सन) अन्तर्गतका सबै विद्यालय र कार्यरत शिक्षक तथा कर्मचारीले सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने जनाएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग आइतबार भएको छलफलमा एन–प्याब्सनका पदाधिकारीले यस्तो प्रतिबद्धता जनाएका हुन्।
मन्त्री विष्टले शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको भन्दै निजी विद्यालयका समस्या समाधानका लागि सरकार सदैव तयार भएको पनि बताए। छलफलमा एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा सहितकोे पदाधिकारी टोलीले सबै विद्यालयहरु सामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरे।
सामाजिक सुरक्षा कोष ऐच्छिक नभएर अनिवार्य विषय भएको भन्दै मन्त्री विष्टले सरकारले थप गरेको समयभित्र सबै विद्यालय र शिक्षक कर्मचारी सूचीकृत भइसक्न निर्देशन दिए।
‘यो समग्र श्रमिकको हितमा आएको राष्ट्रिय अभियानलाई पूर्ण समर्थन र सहयोग गर्छौं’, उनले भने, ‘प्याब्सनमा आवद्ध कतिपय विद्यालयहरु कोषमा सूचीकृत भैसकेको र बाँकी पनि अब हुनेछन्।’ सरकारले कोषमा सूचीकृत हुन मंसिर १३ गतेसम्मको समय थप गरेको छ।