काठमाडौं — राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले लिपुलेक, कालापानी नेपालकै भू–भाग भएकोले सरकारले फिर्ता गर्नको लागि पहलकदमी लिनुपर्ने बताए।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘नेपालको ईतिहासमा हिजो बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति बनेको छ। अहिले मुलुकमा बलियो सरका छ। सरकारलाई हिजोको सहमतिले ठूलो शक्ति प्रदान गरेको छ।’
विगत ७० वर्ष लामो समयदेखि सीमा विवादको समस्या रहेको सुनाउँदै अब वार्ता तथा कुटनीतिक माध्यमबाट यसको दिर्घकालिन रुपमा हल गरिनुपर्ने यादवको सुझाव छ। नेपालबाट विभिन्न समयमा भारत भ्रमण भएको सुनाउँदै तीन भ्रमणमा पनि सीमा विवाद समाधान हुन नसकेको उनले टिप्पणी गरे।
परराष्ट्रसचिवको नेतृत्वमा बनेको दुई कमिटीले पनि विवाद समाधान गर्न नसकेको बताउँदै अब सरकारले यसको लागि ठोस कदम चाल्नुपर्ने उनको भनाई थियो। उनले प्राविधिक टोली, राजनीतिक र कुटनीतिक तीनै च्यानलमार्फत विवाद समाधानको लागि सरकारले पहल गर्नुपर्ने सुझाव दिए। ‘नेपालको एक ईन्चपनि भूमी हामी छोड्दैनौं’–यादवले भने,‘देशको भूमी रक्षाको लागि हामी एक ठाउँमा उभिएका छौं।
यो सरकारले गम्भिरताका साथ आफ्नो कदम चाल्नुपर्छ।’ पूर्वमन्त्रीसमेत रहेका यादवले अहिले विवाद समाधानको लागि राम्रो वातावरण बनेको पनि सुनाए। उनले भने,‘यो सरकारलाई अवसर र चूनौति दुवै छ। यत्रो सहमति र समर्थन हुँदाहुँदैपनि सरकारले केही गर्न सकेन भनेर कुरा हुन्छ। राजपाले पनि समर्थन जनाएको छ।’
यादवले सडक संघर्ष वा आन्दोलनबाट सीमा विवादको समस्या हल नहुने जिकिर गरे। उनले भने,‘आन्दोलन वा संघर्षले राम्रो वातावरण बनाउँदैन्। नेपाल र भारतबीचको सम्बन्ध राम्रो बनाउनुपर्छ। यो सरकारको काँधमा ठूलो जिम्मेवारी रहेको छ। आन्दोलनले प्रतिकुलता सिर्जना गर्छ। बरु, वार्ताबाट समाधान गर्नुपर्छ।’ नेपालसँग नक्शा र ऐतिहासिक तथ्य तथा प्रमाणहरु रहेकोले सम्पूर्ण भूभाग फिर्ता गर्नुपर्ने उनको भनाई छ।