काठमाडौं– आउँदो शुक्रबार अर्थात कात्तिक २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’ बाट दुई कलाकार यो क्षेत्रमा भित्रिदैछन्। नायकको रुपमा साहिल श्रेष्ठ र नायिकाको रुपमा कुसुम राउतले यो क्षेत्रमा पाइला राखेका हुन्। चलचित्रलाई देव भुषालले निर्देशन गरेका हुन्।
चलचित्रमा नायक भूवन केसी पनि भएकाले उनको चर्चा हुनु स्वभाविक नै हो। तर, चलचित्र साहिल र कुसुमकै वरिपरी घुमेको छ।
चलचित्र क्षेत्रमा भित्रिने नयाँ अनुहारका लागि डेब्यू चलचित्र सफल हुन आवश्यक छ। साहिल र कुसुम पनि यो चलचित्रबाट दर्शकमाझ चिनिने दाउमा छन्। अमेरिकाबाट फर्किएका साहिलको सेरोफेरोमा घुमेको चलचित्रबाट कुसुम पनि आशावादी छिन्। डेब्यू चलचित्र सफल भएको खण्डमा कलाकारका लागि यो क्षेत्रमा धेरै ठूलो राहत हुन्छ ।
यो चलचित्रले विदेशमा रहेपनि नेपाली मन फेरिदैन भन्ने कथालाई उठान गरेको छ। राष्ट्रियताको कथाको साथमा कमेडी, प्रेम समेत समावेश भएकाले दर्शकका लागि एउटा पूर्ण प्याकेज चलचित्र भएको निर्देशक भुषालको दाबी छ।
प्रेमराज दाहालको निर्देशनमा तयार भएको यो चलचित्र सफल भएको खण्डमा साहिल र कुसुमका लागि चलचित्र क्षेत्रको आगामी बाटो पक्कै पनि सहज हुने आशा गरिएको छ।