काठमाडाैं _ नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा श्रीराम पौडेलले उम्मेदवारी दिएका छन्।
पौडेलले नेपाल जेसिजको मुख्यालय थापाथलीमा आज अपरान्ह ४ बजे उम्मेदारी दर्ता गरेका हुन्। बालाजु जेसिजको मातृशाखा थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्य, बालाजु जेसिजका अध्यक्ष महेन्द्र भण्डारी, पूर्वअध्यक्षहरु दीपकराज भुषाल, गोविन्द खनाल लगायत करिब ५० जना जेसिज पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।
जेसिजको राष्ट्रिय महाधिवेशन यसपाली २०७६ पुस ९ देखि १२ सम्म चितवनको रत्ननगरमा आयोजना हुँदैछ। महाधिवेशनले एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ उपाध्यक्ष निर्वाचित गर्नेछ। महाधिवेशनबाट निर्वाचित राष्ट्रिय अध्यक्षले एक महासचिव, एक कानूनी सल्लाहकार र एक कोषाध्यक्ष मनोनित गरेपछि जेसीजको राष्ट्रिय कार्य समितिले अनिमात्र पूर्णता पाउनेछ।
त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिएका पौडेल नेपाल जेसिजमा लामो समयदेखि सक्रिय छन््। उनी नेपाल जेसिजको बालाजु शाखाका संस्थापक अध्यक्ष समेत हुन्। सन् २०१७ मा उनलाई जेसिजले मुख्य तालिम आयुक्तको जिम्मेवारी दिएको थियो। त्यतिबेला जेसिजको तालिमलाई प्राज्ञिक तुल्याउन पौडेल लगायतले अतिरिक्त मेहनत गरेका थिए। ब्यवसायिक रुपमा चाहिं पौडेल विगत दुई दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय छन्।
उम्मेदवारी दर्तापश्चात पौडेलले भने, “सामूहिक नेतृत्वको भावना विकास गर्दै १८ देखि ४० वर्षका युवाको व्यक्तित्व, नेतृत्व, व्यवसायिक विकास, मानवताको सेवा, विश्व बन्धुत्वको भावना र विधिको शासन कायम गराउन जेसिज समर्पित छ।
जेसिजको उम्मेदवारी दर्ताको आज अन्तिम दिन हो। सो संस्थाको राष्ट्रिय अध्यक्षमा अरुणेश्वर खनाल, विकास मानन्धर र अशोक शंकरको उम्मेदवारी परेको छ।