एजेन्सी — अघिल्लो महिनाको विवादास्पद चुनावबाट पुन निर्वाचित भएका बोलिभियाका राष्ट्रपति एभो मोरालेसले देशमा उत्पन्न तनावका माझ पदबाट राजीनामा दिएका छन्।
आइतबार अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले अक्टोबर २० तारिखमा भएको चुनावमा धाँधली भएका स्पष्ट प्रमाण आफूहरूले फेला पारेको भन्दै त्यसलाई बदर गर्न माग गरेका थिए।
मोरालेसले ती निष्कर्षहरूसँग आफू सहमत रहेको भन्दै निर्वाचन आयोगमा सुधारका कदमहरू चालेर नयाँ चुनाव गराउने आफ्नो इच्छा रहेको बताएका थिए।
तर देशका नेताहरू र सेना तथा प्रहरीका प्रमुखहरूले उनलाई पद छाड्न सुझाव दिएका थिए। त्यसअघि यसै हप्ताको सुरुमा उनका केही साझेदारहरूमाथि आक्रमण गरिएका थिए र उनीहरूका घरमा आगजनी गरिएको थियो।
टेलिभिजनमार्फत सम्बोधन गर्दै मोरालेसले आफूले राष्ट्रपतिको पदबाट राजीनामा दिने बताए र आन्दोलनकारीहरूलाई आफ्ना दाजुभाइ दिदीबहीनीलाई आक्रमण नर्गन र आगजनी रोक्न आह्वान गरे।
मोरालेससँगै भेनेजुएलाका उपरराष्ट्रपति अलभारो गारसिया लिनेरा र सिनेटका अध्यक्ष एडरियाना सलभाटिराले पनि राजीनामा दिएका छन्। उक्त घोषणासँगै आन्दोलनकारीहरू सडकमा निस्किएर हामी सक्छौ भन्दै आतसबाजी गर्दै खुसीयाली मनाइरहेका छन्।
यो अवस्था कसरी आयो?
बोलिभियामा चुनावमा धाँधली भएका विवरणहरू माझ हप्तौँ यता सरकार विरोधी प्रदर्शनहरू चलिरहेको थियो। राष्ट्रपतिय चुनाव भएको रात मतगणना २४ घण्टाका लागि रोकिएपछि सुरूमा तनाव उत्पन्न भएको थियो।
अन्तिम परिणामले मोरालेसलाई पहिलो चरणबाटै चुनाव जित्न आवश्यक भन्दा १० प्रतिशत भन्दा केहि बढी मत ल्याएको भन्दै विजयी घोषणा गरिएको थियो। त्यसपछि भएका झडपमा कम्तिमा ३ जनाको मृत्यु भएको थियो। केही प्रहरी अधिकारीहरूले पनि आन्दोलनकारीहरूलाई साथ दिएका थिए।
आइतबार चुनावको पर्यवेक्षणमा सहभागी भएको अर्गनाइजेसन अफ अमेरिकन स्टेट्सले चुनावका क्रममा तथ्याकंमा व्यापक स्तरमा धाँधली भएका प्रमाण फेला परेको भन्दै नतिजालाई मान्यता दिन नसक्ने बताएको थियो।
त्यसपछि मोरालेस विरूद्ध दिनभर दबाब बढेको थियो र उनका कैयौँ राजनीतिक साझेदारहरूले आफ्नो परिवारको सुरक्षा प्रति चिन्ता व्यक्त गर्दै पदबाट राजीनामा दिएका थिए।
सेनापति जनरल विलियम्स कालीमानले पनि मोरालेसलाई स्थितिलाई शान्त बनाउन र स्थिरता कायम गर्न सघाउन राजीनामा दिन आग्रह गरेका थिए। सेनाले प्रदर्शनकारीहरूमाथि हमला गर्ने कुनै पनि सशस्त्र समूहलाई नियन्त्रण गर्न आफूले कारबाही अघि बढाउने बताएको थियो।
प्रतिक्रिया कस्तो छ?
अघिल्लो महिनाको चुनावमा दोस्रो बनेका विपक्षी नेता कार्लोस मेसाले शान्तिपूर्ण आन्दोलन गरेर उदाहरण प्रस्तुत गरेको भन्दै आन्दोलनकारीहरूलाई धन्यवाद दिएका छन्।
समाजिक सञ्जाल ट्विटरमार्फत उनले पछिल्लो घटनाक्रमले निरङ्कुशताको अन्त्य गरेको भन्दै त्यसले ऐतिहासिक शिक्षा दिएको उल्लेख गरे।
विगतमा मोरालेसलाई समर्थन गरेका क्युबा र भेनेजुएलाका नेताहरूले बोलिभियामा सत्ता पलट गराइएको भन्दै निन्दा गरेका छन्। क्युबाका राष्ट्रपति मिगेल डियास क्यानेलले त्यसलाई लोकतन्त्रविरूद्धको हिंसात्मक र कायरतापूर्ण आक्रमण भनेका छन्।
भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले ट्विटरमार्फत मोरालेसविरूद्ध कू गरिएको भन्दै त्यसको निन्दा गरेका छन्। मेक्सिकोका विदेशमन्त्रीले बोलिभियामा भएको सैनिक कारबाही को आलोचना गरेका छन्। उनले उनको देशले मोरालेसलाई शरण दिने विषयमा विचार गर्न सक्ने पनि बताए।
मोरालेस को हुन्?
बोलिभियाका पहिला जनजाति राष्ट्रपति रहेका मोरालेस सन् २००६ यता देशका नेता रहेका छन्। अक्टोबर महिनामा सम्पन्न चुनावमा उनी चौथो कार्यकालका लागि राष्ट्रपति पदका उम्मेदवार बनेका थिए।
त्यसअघि एउटा विवादास्पद फैसला सुनाउँदै देशको संवैधानिक अदालतले राष्ट्रपतिको कार्यकालको सीमा सम्बन्धी प्रावधान खारेज गरेको थियो। सन् २०१६ मा भएको जनमत सङ्ग्रहमा बहुमतले बोलिभियाका राष्ट्रपतिको कार्यकाल सम्बन्धी सीमा हटाउने प्रस्तावमा हुँदैन भन्ने पक्षमा मत जाहेर गरेका थिए।
तर मोरालेसको दलले उक्त विषयलाई संवैधानिक अदालतमा पुर्यायो र उक्त अदालतले कार्यकालको सीमालाई सम्पूर्ण रूपमा हटाउने निर्णय गरेको थियो। बीबीसी