एजेन्सी– चर्चित फ्रान्सेली अभिनेत्री भ्यालेन्टाइन मोनायरले चर्चित सिनेमा निर्देशक रोमन पोलेस्कीले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन्।
निर्देशक पोलेस्कीले धेरै बर्ष पहिले आफूलाई १८ वर्षकी हुँदा बलात्कार गरेको आरोप लगाएकी हुन्।
शुक्रबार फ्रान्सको एक पत्रिकासँगको साक्षात्कारमा उनले यस्तो दाबी गरेकी हुन्।
‘सन् १९७५ मा रोमन पोलेस्कीले मसँग दुष्कर्म गरे’, अभिनेत्रीले साक्षात्कारमा भनिन्।
‘म उनलाई व्यक्तिगत वा पेसागत दुबै तरिकाले खासै राम्ररी चिन्दिन थिएँ। त्यो एकदमै हिंसात्मक आचरण थियो। हामी जिस्टाडमा (स्वीटजसरल्याण्डको एक शहर) स्कीर गर्न गएका थियौं। उनले मेरो कपडा च्याते र तबसम्म ममाथि बल प्रयोग गरिरहे जबसम्म मैले हार मानिन। यसरी उनले मसँग दुष्कर्म गरे। म मात्र १८ वर्षकी थिएँ’, उनले घटनाको बयान गर्दै सो अन्तरवार्तामा भनेकी छन्।
पोलेस्की चलचित्र क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार ओस्कार विजेतासमेत हुन्। उनले सन् २००२ मा ‘द पियानिस्ट’ नामक सिनेमाका लागि सर्वोत्कृष्ट निर्देशकको ओस्कार जितेका थिए।
मोनायरको यस आरोपको निर्देशक पोलेस्कीका वकिलले भने खण्डन गरेका छन्। ती वकिलले अभिनेत्रीको दाबीलाई मिथ्या आरोप भन्दै अस्विकार गरेका हुन्।
नाबालिगलाई नशा दिएर यौन सम्बन्ध कायम गरेको पोलेस्की अमेरिकामा दोषी ठहर भइसकेका छन्। सो मुद्दाको सजाय हुने पक्का भएपछि उनी अमेरिकाबाट भागेका थिए।
पोलेस्कीमाथि आरोप लगाएकी मोनायरले घटना घटेको ४५ वर्ष बितिसकेको भएपनि पोलेस्कीको आगामी साता सिनेमा रिलिज हुन लागेको र यो नै यस बारेमा बोल्नु उपयूक्त भएकोले सो सम्बन्धी खुलासा गरेको बताएकी छन्।