एजेन्सी– एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। उपाधि दाबेदार नेपालको यो दोस्रो खेल हो।
खेल ढाकास्थित शहिद शुरवार्दी इन्डोर हलमा नेपाली समयअनुसार १२ः४५ बजे शुरु हुनेछ। पहिलो खेलमा अफगानिस्तानमाथि ३–० को सहज जित हात पारेको नेपाल दोस्रो खेलमा पनि किर्गितानमाथि जित निकाल्ने दाउमा छ।। नेपालले पहिलो खेलमा आइतबार अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ को सेटमा हराएको थियो।
पहिलो खेलमा माल्दिभ्ससँग ३–२ को सेटमा पराजित भएको किर्गिस्तान नेपाललाई स्तब्त्र पार्ने सोचमा रहेको बुझिएको छ। किर्गिस्तानले माल्दिभ्सविरुद्ध पहिलो सेट गुमाएर पनि बाकी दुई सेट जित्दै खेलमा पुनरागमन गरेको थियो। तर, बाँकी दुई सेट किर्गिस्तानले आफ्नो पक्षमा पार्न नसक्दा पराजित हुन पुगेको थियो।
दुई खेलमा जित हात पारेको माल्दिभ्स ५ अंक जोडेर शीर्षस्थानमा छ। ३ अंक सहित नेपाल दोस्रो तथा समान ३ अंक नै रहेको बंगलादेश तेस्रो स्थानमा छ। राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले बिहीबार उपाधिका लागि खेल्नेछ। सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ।