हङकङ– हङकङमा सोमबार बिहान भएको प्रदर्शनमा प्रहरीले कम्तिमा एक जना मानिसलाई गोली प्रहार गरेको छ। फेसबुकमा लाइभ देखिएको फुटेजमा एकजना मानिसलाई प्रहरी अधिकृतले गोली हानेको देखिन्छ।
प्रहरीले अरु दुई राउण्ड गोली हानेको समेत देखिएको छ। यद्यपि ती गोली कता लाग्यो भन्ने कुरा फुटेजमा प्रष्ट छैन। गोली लागेको पहिलो व्यक्तिको अवस्थाका बारेमा पनि जानकारी हुन सकेको छैन।
फुटेजमा सो व्यक्ति भुईंमा लडिरहेको,आँखा खुला भएको र उसको शरीरमा रगत बगेको देखिएको छ। गएको जुनमा हङकङमा प्रदर्शन शुरु भएपछि यसपालि त्यहाँको प्रहरीले लाइभ गोली प्रहार गरेको यो तेस्रो पटक हो। यसअघि गएको अक्टोबर १ र ४ तारेखमा यसरी गोली प्रहार भएको थियो। प्रदर्शनकारीले सोमबार बिहान साइ वान हो चोकमा अवरोध सिर्जना गर्दा प्रहरीले गोली हानेको हो । प्रदर्शनकारीले आज शहरका विभिन्न क्षेत्रमा सडक अवरोध गरेका छन्। (बीबीसी)