काठमाडौं — सार्वजनिक शौचालय निर्माण गर्दा महिलालाई प्राथमिकतामा राख्नु पर्ने क्यानेडियन डेपुटी एम्बास्डर डियरड्रि क्यान्टले आग्रह गरेका छन्।
सोमबार रत्नपार्कमा रहेको सार्वजनिक शौचालयको अवलोकन गर्र्दै उनले शौचालय सबैका लागि चाहिने त्यसमा पनि स्वास्थ्य संवेदनशीलता र सुरक्षाका कोणबाट महिलालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। उनले अवलोकन गरेका शौचालय काठमाडौं महानगरपालिका, खानेपानी र सरसफाइका लागि गुथि, एरोसान र ग्राण्ड च्यालेन्जेज क्यानडा सहकार्यमा निर्माण भएको हो।
२०७४ मंसिर ४ गते बिश्व शौचालय दिवस २०१७ को अवसरमा पारेर महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले शौचालयबाट उत्पादन भएको दिशाजन्य फोहोरबाट ग्याँस उत्पादन बिधि पूर्वाधारका लागि शिलान्यास गरेका थिए। त्यसको करीब ३ महिनापछि ग्याँस उत्पादन शुरु भएको थियो। त्यसपछि अहिलेसम्म शौचालयमा भेला भएको मानव मलमुत्रबाट मासिक २ सिलिण्डर ग्याँस उत्पादन भइरहेको छ।
शौचालयको अवलोकन पछि डेपुटी एम्बास्डरसहितको टोलीले शंखधर पार्कतर्फको शौचालय र ग्याँस उत्पादन भएको शौचालयको पछाडिपट्टि फोहोर संकलन हुने ठाउँको पनि अवलोकन गरेका थिए। अवलोकनका क्रममा रहनु भएका महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले — पहुँचयुक्त सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापन गर्ने कामलाई महानगरले प्राथमिक योजनामा राखेको बताए।
नेपाल खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको छ। उनले भने — अब हामी पूर्ण सरसफाइतिर लाग्दैछौं। यसका लागि शौचालयको पूर्वाधार निर्माण गर्ने तथा यसलाई प्रबिधियुक्त बनाएर सञ्चालन गर्न कार्यक्रम बनाएका छौं। सार्वजनिक शौचालय सञ्चालनका लागि दिल्लीमा भएको दूताबासले चासो राखेर उच्च अधिकारी अबलोकनका लागि आउनु महत्वपूर्ण कुरा हो।
शौचालय निर्माणका साझेदार एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्य भन्छन्— यस सफल अभ्यासबाट नेपाल र क्यानडाबीचको दौत्य सम्बन्धमा राम्रो प्रभाव पार्छ। यो परियोजनाबाट क्यानडा सरकारले राष्ट्रिय स्तरमा सहयोग बढाउन सक्छ।
गुथिका अनुसार —पहिले दैनिक औसत १सय सम्म महिलाले सेवा लिने गरेकोमा शौचालयमा चुकुल, प्रकाश र पानीको अवस्थामा सुधार गरेपछि सेवाग्राहीको संख्या अहिले औसत ६ सय पुगेको छ। त्यहाँ दैनिक करीब २ हजार व्यक्तिले सेवा लिइरहेका छन्।
शौचालय सुधारका लागि ५ लाख रुपैयाँ लगानी गरिएको थियो। त्यसबाट निर्माण भएको २५ घनमिटरको ट््याङ्कीमा शौचालयबाट फोहोर जम्मा गरिन्छ। यही लेदो फोहोरबाट ग्याँस उत्पादन हुने गरेको छ। यो एनोरोविक डाइजेस्टर विधि हो।