प्रभु जिरेल
चरिकोट, १४ माघ –दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै हिउँ खेल्न आउने पर्यटकको घुइँचो लागेको छ।
जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, शैलुङ, खरिढुङ्गा, जिरी, च्योर्दुङ, खावालगायत उच्च भूभागमा बाक्लो हिमपात भएको छ। हिमपातपछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। जिल्लामा आउने अधिकांश पर्यटकको पहिलो रोजाइमा कालिञ्चोक परेको छ। पर्यटक प्रायः कालिञ्चोकको कुरी जाने, हिउँसँग रमाउने र केबुलकार चढ्ने उद्देश्यले दोलखा आउने गरेको पाइएको छ।
राजधानीबाट नजिक रहेको दोलखामा शुक्रबार र शनिबार मात्र करिब १० हजार पर्यटक हिउँ खेल्न दोलखा आएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुन्दर कार्कीले बताए। कालिञ्चोकको कुरीमा मात्र करिब ३ हजार पर्यटक राख्न सकिने होटल सञ्चालनमा छन्।
सबै होटल एक सातासम्मका लागि बुकिङ भइसकेको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए। “होटल सबै बुकिङ भए पनि बाक्लो हिमपातका कारण गाडी ५ किमी तलबाटै कुरीसम्म पुग्न नसकेकाले समस्या भएको छ,” उनी बताउँछन्।
हिउँका कारण गाडी सञ्चालनमा आउन नसक्दा कालिञ्चोक हिँडेकाहरू कुरीबाट माथि जान सकेका छैनन् । कुरीसम्म पुग्नका लागि समस्या भएपछि चरिकोटका होटलसमेत भरिभराउ छन्। हाल पनि निरन्तर हिउँ परिरहेको हुँदा कालिञ्चोकमा पिउने पानीको सबैभन्दा ठूलो समस्या भएको स्थानीय होटल व्यवसायी सोनाम शेर्पाले बताए। ट्याङ्करबाट पानी ल्याउने गरिएकामा हिउँका कारण यातायात अवरुद्ध भएकाले खाद्यान्नसमेत अभाव हुन थालेकाले कालिञ्चोकका सबै होटल बन्द गर्नुपर्ने स्थिति आउँछ, उनले भने।
कालिञ्चोकमा यातयात सञ्चालन गरी खाद्यान्न तथा पानीको आपूर्ति सहज बनाउन प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख वासुदेव पाठकले बताए।” केही दिनदेखि लगातार हिमपात भएसँगै कुरी तथा कालिञ्चोक मन्दिर आसपासमा तीन फिटभन्दा बढी हिँउ जमेको छ। ३८ हजार ४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा पुसदेखि फागुनसम्म हिमपात हुने गर्छ। राजधानी काठमाडौँबाट १ सय ३३ किमीको सडक यातयताबाट चरिकोट पुगेपछि १७ किमी दूरी पार गरेर कालिञ्चोक पुग्न सकिन्छ।
हिमपातसँगै सय थुम्का रहेका शैलुङमा पनि हिउँ खेल्न आउने पर्यटको सङ्ख्या वृद्धि भएको शैलुङ गाउँपालिका प्रमुख भरत दुलालले बताए। जिल्लाको खरीढुङ्गा, च्योर्दुङ, खावा, डाँङ्डगे डाँडालगायत क्षेत्रमा पनि हिउँ खेल्ने आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ। (रासस)