काठमाडौं–नायक सुशिल श्रेष्ठ मुख्य भूमिका रहेको चलचित्र चलचित्र ‘लभ डाइरिज’ को एक गीतको छायांकन सकिएको छ। हायात होटलमा छायाङ्कन गरेको ‘छम छम छम’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्। अर्जुनकै शब्द रहेको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर रहेको छ।
प्रविण सिंहको करियोग्राफीमा खिचिएको यो भिडियोमा सुशिल र चलचित्रकी मुख्य नायिका रुविना थापासँगै टिकटकबाट चर्चामा आएका दिदीबहिनी प्रिन्सी खतिवडा, प्रिज्मा खतिवडा र कमला घिमिरेको अभिनय छ। गीतको भिडियोलाई संजय लामाले खिचेका छन्।
सामाजिक संजालमा प्रिन्सी–प्रिज्मा र कमलाको फलोअर्स राम्रो छ। विशेषत टिकटकमा उनीहरु सक्रिय छन्। उनीहरुलाई चलचित्रको गीतमा अभिनय गराएर चलचित्रको प्रचार–प्रसारमा सहयोग हुने निर्माण पक्षको विश्वास छ।
गीतको छायांकनसँगै चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ। यो चलचित्र अब प्रेमदिवसलाई लक्षित गर्दै फागुणको २ गतेबाट रिलिज हुनेछ। चलचित्रको प्रदर्शन मिति यसअगाडि बारम्बार सर्दै आएको थियो
सौरभ चौधरीको निर्देशनमा बनेको लभ स्टोरी चलचित्रमा मधु बास्तोलाको कथा तथा पटकथा छ। साहिल खान एसोसिएट निर्देशकका रुपमा रहेको चलचित्रलाई विनोद सापकोटाले निर्माण गरेका हुन्। चलचित्रमा सरोज तुलाधर सह–निर्माताको रुपमा छन्।