काठमाडौ– प्रहरीले काठमाडौंबाट तास चिन्ने सेन्सर जडित जुवा सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीको प्रहरीले टोलीले आइतबार नागार्जुन नगरपालिका–४ सीतापाइलाबाट सर्लाहीका ३६ वर्षीय निरबहादुर कार्कीलाई पक्राउ गरेको हो।
पक्राउ परेका कार्कीको डेराबाट डिभाइस जडित नगदसहित अन्य थुप्रै सामग्री र ९४ हजार रुपैयाँ बरामद गरेको छ। जसमध्ये एक हजारका १४ वटा नोटमा तास चिन्ने सेन्सर जडान भएको प्रहरीले जनाएको छ।
यस्तै डिभाइस जडित एउटा पर्स, ५ वटा बेल्ट, एउटा घडी, ६ वटा चस्मा, ४ वटा चस्माका खोल, १२ वटा टिसर्ट, १६ वटा सर्ट, ३ वटा टिसर्टका बाहुला, २४ वटा रिमोट, एउटा लिड लाइट, १३५ वटा विभिन्न रंगका एयर पिस, विभिन्न रंगका ५४ वटा लेन्स र २ वटा हाते झोलासमेत बरामद गरेको प्रहरीले जनाएको जनाएको छ।
डिभाइस जडित सामग्रीहरुले जुवामा सजिलै तास चिन्न सक्ने प्रहरीको भनाइ छ। पक्राउ परेका कार्कीले यस्तै सामग्रीहरु बिक्रीसमेत गरेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ।
यसबाहेक बिभिन्न बैंकको १३ लाखको चेक, केही भारतीय नोट र अन्य इलेक्ट्रिक सामग्रीहरु पनि बरामद भएको प्रहरीले जनाएको छ।रासस