काठमाण्डौ–प्रदेश १ प्रदेशसभा सदस्यहरुलाई समाजिक सञ्जालको प्रयोगमा अपनाउनु पर्ने सजगताबारे जानकारी दिन तालिमकै आयोजना गरिएको छ।
सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु सजगता बारे सिकाउन विराटनगरमा तालिम आयोजना गरिएको हो।
संसद् सहयोग परियोजनाको सहयोग तथा इनोभेटिभ भिजनद्वारा आयोजित दुई दिने तालिममा १८ जना प्रदेशसभा सांसद सहभागी छन्। प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सञ्चार र सामाजिक सञ्जाल व्यक्तित्व विकासको सशक्त माध्यम भएकाले यसको प्रयोग होसियारीपूर्वक गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेल, संसदीय पत्रकार मञ्चका अध्यक्ष गणेश लाम्साल, इनोभेटिभ भिजनका अध्यक्ष कृष्णप्रसाद सिग्देल र संसदीय पत्रकार मञ्चका उपाध्यक्ष बाबुराम भण्डारीले सञ्चारको गलत उपयोग भएमा मानिसको व्यक्तित्व नै धरापमा पर्न जाने भएकाले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए।