कास्की– १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) निर्धारित समयमै हुने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताएका छन्। पोखरामा पत्रकारसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन्।
भौतिक संरचना निर्माण सम्पन्न नभएको भन्दै साग तोकिएके मितिमै हुनेमा शंका उत्पन्न् भइरहेको बेला उनले यस्तो बताएका हुन्। दक्षिण एशियाली ओलम्पिक कमिटीको शनिबार काठमाडौँमा बसेको बैठकले साग नहुने तथा समय पछि सर्ने भन्ने आशङ्कलाई पूर्णविराम लगाउँदै आगामी मङ्सिर १५ देखि २४ गतेको मितिमा नै प्रतियोगिता गर्ने निर्णय गरेको स्पष्ट पारेका छन्।
त्यस्तै राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दुई–तीन वटा खेलका बाहेक सबै पूर्वाधार निर्माणको कार्य सकिएको बताउँदै प्रतियोगिता अघि सबै पूर्वाधार तयार भइसक्ने जनाएका छन्। दशरथ रङ्गशालाको भिआइपी प्यारापिटमा छानो हाल्ने काम बाँकी रहेकाले चार दिनभित्रमा चीनबाट एयर काग्रो गरी छानो ल्याएर छाइने बताउँदै उनले पोखरा फुटबल रङ्गशालाका लागि आवश्यक प्यारापिटको सामान बन्दरगाहमा आइसकेकाले साग अगाडी १० हजार दर्शक क्षमताको रङ्गशाला तयार हुने बताए।
सागमा कूल २८ खेल हुने बताइएको छ। जसमध्ये १८ वटा राजधानी, नौ वटा पोखरा तथा एक वटा खेल जनकपुरमा हुनेछ। केही देशमा प्याराग्लाइडिङ खेलाडी नभएको तथा कतिपयमा खेल सङ्घ नहुँदा प्रतियोगितामा प्याराग्लाइडिङ नहुने आशङ्का रहे पनि प्रतियोगिताका सबै खेल सञ्चालनका लागि प्रयास गरिरहेको सदस्यसचिवर सिलवालले बताए।