बुटवल–चीन भ्रमणमा स्थानीय तीन तहका सरकारको अभ्याससँगै पछिल्लो समय प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरूको छिमेकी मुलुक चीनको भ्रमण गर्ने क्रम बाक्लिन थालेको छ।
खासगरी चीनका विभिन्न प्रान्त तथा नगरहरूबीच भगिनी सम्बन्धका नाममा भइरहेका यस्ता भ्रमणहरू फलदायी भइरहेको बताइए पनि ठोस नतीजा भने देखिएको छैन। पछिल्लो समय चीनका विभिन्न प्रान्त तथा नगरहरूबाट नेपाल आउने चिनियाँ प्रतिनिधिहरूको सङ्ख्या पनि बढ्दै गएको देखिएको छ।
उत्तरतिर लावालस्कर
गत महिना भएको चीनका राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा बुटवल उपमहानगरपालिका र चीनको शियान नगरबीच भगिनी सम्बन्ध कायम हुनु अघि बुटवलका प्रमुख शिवराज सुवेदीले तीनपटक सम्म चीनको भ्रमण गरिसकेका थिए। त्यस्तै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि त्यत्तिकै हाराहारीमा चीन पुगिसकेका छन्।
यो प्रदेशका अरू नगरपालिकादेखि लिएर गाउँपालिकाका पदाधिकारीहरूको चीन भ्रमणको सिलसिला पनि बाक्लै देखिन्छ। सुवेदीले आफ्नो चीन भ्रमणको उपादेयतालाई यसरी व्याख्या गर्छन्, “त्यहाँको विकासबाट सिक्ने कुरा धेरै छन्। साथै भ्रमणले लुम्बिनी आसपासमा धेरैभन्दा धेरै चिनियाँ पर्यटक भित्र्याउन पनि सघाउ पुग्छ।’
सिकाइ
केही महिना अघि चीनको गान्नान नगर पुगेर फर्केका सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले त्यहाँबाट धेरै कुरा सिकेर फर्केको र अब ती सिकाइ सैनामैनामा लागू गर्ने बताए। उनी भन्छन् गान्नानमा सरकारले चलाएको होमस्टेको व्यवस्थापनबाट उनी प्रभावित भएका छन्। “निकट भविष्यमा सैनामैनामा हामीले सुरु गर्न लागेको होमस्टेको व्यवस्थापन त्यस्तै तरीकाले गर्नेछौँ,’’ उनले भने।
छैन अनुगमन
तर यस्ता भ्रमणहरूमा लाग्ने खर्च तथा अनुगमनको पाटो भने स्पष्ट देखिएको छैन। भ्रमण गर्ने अधिकारीहरूका अनुसार त्यहाँ बस्दा तथा घुम्दाको सबै खर्च चिनियाँ पक्षले व्यवस्थापन गर्ने भए पनि आउँदाजाँदा लाग्ने हवाई भाडा भने सम्बन्धित पक्षले नै बेहोर्दै आएका छन्।
भ्रमणको स्वीकृति सङ्घीय सरकारका मन्त्रालयहरूबाट लिइने हुँदा स्थानीय तहबाट हुने यस्ता भ्रमणका बारेमा प्रदेश सरकार जानकार नहुने प्रदेश नं ५ सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरी बताउँछन्। उनी भन्छन्, “भ्रमण स्वीकृत गर्ने वा नगर्ने काम परराष्ट्र मन्त्रालयले गर्ने हुँदा प्रदेश सरकारको यसमा कुनै भूमिका हुँदैन र भ्रमणको जानकारी पनि हुँदैन।’’बीबीसी