काठमाडौं– चार दिने नेपाल भ्रमणका लागि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (मंगलबार) नेपाल आउँदै छन्। हमिद राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाउ आउन लागेका हुन्।
५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा नेपाल आउन लागेका हमिदको सबै खाले सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ।
नेपालका भ्रमणका क्रममा राष्ट्रपति हमिदले उनका समकक्षी विद्यादेवी भण्डारीसँग बुधबार अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गर्नेछन्। बुधबार साँझ प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोज आयोजना गर्ने बताइएको छ।
त्यस्तै बंगलादेशका राष्ट्रपतिले नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छुट्टाछुट्टै भेटेवार्ता गर्नेछन्। उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूसँग पनि कुराकानी गर्ने कार्यक्रम छ।
राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरीको पनि भ्रमण गर्ने बताइएको छ। राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले बताएको छ। उनको भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ।