भोजपुर– भोजपुरका स्थानीयवासीहरु अहिले कटुसको व्यापारमा व्यस्त बनेका छन्। जङ्गल तथा पाखोबारीमा फलेको रातो पात्लेको कटुस बेचेर किसानहरु मनग्य आम्दानी गरिरहेका छन्।
अर्गानिक फल कटुस किनेर खाने मानिसहरुको संख्या बढेसँगै कटुस व्यापार फस्टाएको हो। स्थानिय हाटबजारमा स्थानीयवासी धमाधम कटुस बेचिरहेको देख्न सकिन्छ। लेकाली भेगमा पाइने रातोपात्ले तथा सेतो पात्लेमा फलेको कटुस बिक्रीका लागि स्थानीयवासी हाटबजारसम्म धाउने गरेको बताउँछन्।
स्वास्थ्य असर नगर्ने र खानको लागि निकै स्वादिष्ट मानिने कटुस मानिसको रोजाइमा पर्ने गरेको छ। कटुसको बिक्रीबाट यो मौसममा निकै राम्रो आम्दानी हुने गरेकोस्थानियवासि बताउँछन्। ‘कटुस बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छौं, एक बोरा बिक्री गर्दा रु पाँच हजारसम्म हुन्छ,’ एक बिक्रेताको भनाई।
एक मौसममा टिपेको कटुस बिक्रीबाट स्थानीयवासीको जीवनस्तरमा परिवर्तन आउन थालेको छ। भोजपुरमा फलेको कटुस विभिन्न जिल्लासँगै कोसेलीको रुपमा विदेशसम्म जाने गरेको व्यापारीको भनाइ छ। जङ्गलमा टिप्न जाँदा एक जनाले एक दिनमा पाँचदेखि दश केजीसम्म टिप्ने गरेका गरेका छन्। शुरुको समयमा प्रतिकेजी दुई सय ५० देखि तीन सय रुपैयाँमा बिक्री गरेको भए पनि अहिले उत्पादन बढ्न थालेपछि मूल्य केही घटेको छ। र पनि व्यापारमा उनीहरु सन्तुष्ट देखिएका छन्।
कटुस भुटेर तथा काच्चै पनि खान मिल्ने एक प्रकारको फल हो। विषेश गरेर असोजको अन्तिमबाट खान मिल्ने कटुस माथिल्लो भेगमा बस्ने स्थानीयवासीको निकै राम्रो आम्दानीको स्रोत बन्दै गएको छ।