अत्तरिया– कैलालीको धनगढीमा आउँदो फागुन ६ देखि १२ गतेसम्म विश्व नेपाली साहित्य महोत्सव २०७६ को आयोजना गरिने भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा हुनलागेको साहित्य महोत्सवमा संसारभरिका नेपाली साहित्यकारको सहभागिता हुने सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
नेपाली भाषा, साहित्य र संस्कृतिको उद्गमस्थलका रूपमा रहेको काली कर्णाली क्षेत्रको गौरवगाथालाई माथि उकास्ने उद्देश्यले महोत्सव आयोजना गरिन लागेको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताएका छन्।
इतिहासमै पहिलोपटक हुन थालेको साहित्य महोत्सवले सुदूरपश्चिमको भाषा, साहित्य र संस्कृतिलाई विश्वसामु चिनाउन मद्दत मिल्ने उनले बताए। उनले महोत्सवमा नेपाल, भारत, भूटान, बङ्गलादेश, अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा, जापानलगायत विभिन्न देशमा बसेर नेपाली भाषा र साहित्यको उन्नयन तथा विकासमा समर्पित स्रष्टाको सहभागिता रहने बताएका छन्।
साहित्य महोत्सवमा रु दुई करोड ४४ लाख खर्च हुने अनुमान गरिएको विश्व नेपाली साहित्य महोत्सव २०७६ मूल समारोह समितिका संयोजक प्राज्ञ यज्ञराज उपाध्यायले जानकारी दिए। महोत्सवमा सुदूरपश्चिमको कला, संस्कृति, साहित्य, प्रकृति, पर्यटन, विकास, निर्माणका मुद्दा, देवस्थल, सम्पदा तथा पहिचान झल्किने सबै कला संस्कृतिको प्रस्तुति रहने उनको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महोत्सवमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, डा बाबुराम भट्टराई र लोकन्द्रबहादुर चन्दलगायत बहालवालामन्त्री तथा पूर्वमन्त्री, संघीय तथा प्रदेशका सांसद, स्थानीय तहका जनप्रतिनिधको सहभागिता रहने आयोजकको भनाइ छ।
महोत्सवको आवश्यक तयारीका लागि एक हजार १११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न समिति तथा उपसमिति पनि गठन गरिसकेको अध्यक्ष जोशीले जानकारी दिए। महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको ठम्याइ छ।
रासस