काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतविरुद्ध जाराबाजि गरेका छन्। नेपाली भूभाग भारतको राजनितिक नक्सामा राखेपछि नेपालमा निरन्तर विरोध तथा प्रदर्शन भइरहेको छ।
मंगलबार बिहान नेविसंघ काठमाडौंको आयोजनामा चाबहिलमा गरिएको विरोध प्रदर्शनमा विद्यार्थीहरुले सरकार निरिह बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन्। आफ्नै भूमि मिचिँदा सरकारले केहि गर्न नसकेको उनीहरुको आरोप छ।
प्रधानमन्त्री ओलीको खोक्रो राष्ट्रवाद छर्लङ्ग भएको भन्दै विद्यार्थीले सरकार राष्ट्रियता जोगाउन असफल भएको भन्दै राजिनामा मागेका हुन्। विरोध प्रदर्शनमा ‘सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो ?’, ‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’, ‘साथ दिन प्रतिपक्षी यहाँ छ, प्रधानमन्त्री ज्यू हाम्रो कालापानी कहाँ छ ?’ जस्ता नाराहरु लगाइएको थियो।
यसअघि पनि नेवि संघले ‘भारतीय विस्तारवाद मुर्दावाद’ लेखिएको कालो ब्यानरसहित प्रदर्शन गरेका थिए। आजको नाराबाजिमा उनीहरु सरकारविरुद्ध खनिएका थिए। जम्मु–कश्मीरको विशेषधिकार खोसेर केन्द्र शाषित राज्यमा मिलाएपछि भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेकलगायतका नेपाली भूभाग समेटिएका छन्। जसको यतिबेला तीव्र विरोध भइरहेको छ।
राजनीतिक तहमा नेपाली भूभाग फर्काउन पहल गर्ने सहमति बनेको छ भने सत्तारूढदेखि प्रतिपक्षी विद्यार्थी संगठनलगायतले केही दिनदेखि भारत सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्।