झापा–फड्के किराले धान सखाप पारेपछि झापाका किसनाले पाक्न लागेको धान खेतमै आगो लगाएका छन्।
झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाक्न लागेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाइन्। दुई बिघा क्षेत्रमा लगाइएको धानखेती मध्ये १० कठ्ठा जमीनमा भएको रञ्जित धानमा फड्के किरा लागेर सुकेपछि आगो लगाउन बाध्य भएको उनको भनाई छ।
अघिल्लो दिन हेर्दा धान पाकेजस्तो लागेपछि काट्ने मेसिन खोजेर खेत जाँदा सबै धान सुकेको पो रहेछ भन्दै उनले भनिन्,कृषि प्राविधिकलाई सोध्दा किरा लागेको पराल गाईवस्तुलाई पनि खुवाउन हुँदैन भनेपछि आगो लगाएँ।
मेचीनगरको वडा नम्बर –९ का ८ जनाभन्दा बढी किसानको १० विघा खेतमा पाकेको धान फड्के किराले सखाप पारेको उनको भनाई छ। फड्के किराले सखाप पारेपछि मेचीनगर–४ बाहुनडाँगी क्षेत्रका किसानले समेत धान खेतमा आगो लगाएका छन्।
बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर २ र ३ का किसानको करिब १२ विघा जमीनमा लगाएको धान खेतमा आगो लगाइएको गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले बताए।
किराको प्रकोपका कारण पाक्न लागेको धान सुकेर काम नलाग्ने अवस्थामा पुगेपछि किसानले खेतमै आगो लगाएका हुन्। उनले धान क्षति भएका किसानको तथ्याङ्क सङ्कलन गर्ने कार्य गाउँपालिकाले गरिरहेको बताए। उनीहरुलाई गाउँपालिकाले नै क्षतिपूर्ति भराउन नसके पनि प्रदेश सरकारसँग राहतका लागि पहल गर्ने उनको भनाइ छ।
वर्षभरि के खाने भन्ने चिन्तासँगै परालसमेत काम नलाग्दा गाईवस्तुलाई के खुवाउने भन्ने पीर बढ्यो। भुसुना जस्तो देखिने किराले एकैरातमा पाकेको धानको दाना भुस बनाएको अर्का किसान नगेन्द्रप्रसाद गड्तौलाले बताउनुभयो।
कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी तथा प्राविधिक शेषराज पौडेलले मेचीनगर, हल्दिबारी, भद्रपुर, शिवसताक्षी, बुद्धशान्ति र गौरीगञ्जमा विशेषगरी फड्के किराको प्रकोप देखिएको बताए। झापामा करिब सय विघा जमीनमा यो किराको प्रकोप देखिएको छ। समयमै किसानले थाहा नपाएको र औषधि गर्न नसक्दा यो रोगका कारण यति धेरै क्षति भएको उनले बताए।
ज्ञान केन्द्रले क्षति पुगेको स्थानका किसानको तथ्याङ्क सङ्कलनका लागि स्थानीय तहलाई अनुरोध गरेको उनले बताए। तथ्यांक आएपछि केन्द्र र प्रदेश सरकारसँग राहतको लागि पहल गर्ने उनको भनाई छ।