काठमाडौँ, १४ माघ – राजधानीमा ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९’ आयोजना हुने भएको छ। महोत्सव आगामी फागुन ९ देखि १३ गतेसम्म हुनेछ।
विभिन्न पक्षबारे आयोजकले नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलचित्रको पहिचान र स्थापनाका लागि महोत्सव आयोजना गर्न लागेको हो।
वरिष्ठ चलचित्रकर्मी यादव खरेलले महोत्सवका लागि तयार पारिएको ‘प्रोमो क्लिक’ गर्दै महोत्सवको औपचारिक शुभारम्भ गरेका थिए। आयोजक संस्थाका अध्यक्ष केपी पाठकले भने, ‘नेपालमा बेलाबेलामा आयोजना भएका महोत्सवले मूल धारमा निर्माण भएका चलचित्रलाई खासै स्थान दिएको छैन, हामी त्यस्ता चलचित्रका लागि ठाउँ बनाउन लागिपरेका छौँ।’ सिक्न, सिकाउन, हेर्न र देखाउन महोत्सव आयोजना गर्न लागिएको उनी बताउँछन्।
त्यस्तै चलचित्र निर्देशक दयाराम दाहाल र नीर शाहले पनि चलचित्रको विकास तथा प्रवर्द्धनमा महोत्सवको महत्त्वपूर्ण भूमिका रहने बताए। महोत्सवमा नेपालसहित विश्वका ३१ राष्ट्रका ५९ वटा चलचित्र देखाइनेछ। नेपालका ६ वटा फिचर र १० वटा सर्ट चलचित्र गरी १६ वटा देखाइनेछ। त्यस्तै विदेशी चलचित्रहरूमध्ये ३१ सर्ट र ६ वटा फिचर चलचित्र प्रदर्शन हुनेछन्।
महोत्सवमा कथा वाचन प्रतियोगितासमेत रहनेछ। प्रदर्शित फिचर चलचित्रमध्ये एक उत्कृष्टलाई १ हजार अमेरिकी डलरसहित पुरस्कृत गरिनेछ। छोटो चलचित्रतर्फ भने उत्कृष्ट चलचित्रले ५ सय अमेरिकी डलर पाउने छ। त्यस्तै नेपाली चलचित्रका लागि भने उत्कृष्ट निर्देशक तथा लेखकलाई पनि अवार्ड दिइनेछ।
अवार्ड निर्णायकमा कलाकार नीर शाह, सदस्यहरूमा निर्देशक नवीन सुब्बा, चिनियाँ निर्देशक प्रा.डा. लियन क्यो, भारतीय चलचित्र लेखक प्रेमेन्द मजुमदार, स्विट्जरल्याण्डकी चलचित्र प्राध्यापक फोर्ट नाइट चलचित्र सेक्सनका सदस्य आनी दिलसेथ रहेका छन्।