काठमाण्डौ – चिसो समय लागे सँगसँगै आजको काठमाण्डौ उपत्यकाको तापक्रम यो वर्षकै कम रहेको देखिन्छ।
मंगलबार बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाण्डौको न्यूनतम तापक्रम सोमबार ११ डिग्री सेल्सियस थियो। यसअघि गएको ७ गते काठमाण्डौको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियसमा झरेपनि त्यसपछि बढेर १२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो।
बुधबारदेखि देशभरको मौसम अझ धेरै बदली हुने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए।
पश्चिमी वायु सक्रिय हुने लागेकाले बुधबारदेखि देशभर मौसम बदली भएर बिहीबार केही ठाउँमा पानी पर्ने संभावना रहेको उनले जानकारी दिए। मंगलबार पूर्वको पहाडी क्षेत्र बाहेकका सबैजसो ठाउँको मौसम सफा हुनेछ।
पश्चिमी वायुको प्रभावले पूर्वी पहाडी क्षेत्रको मौसम मंगलबार आशिंकदेखि सामान्य बदली हुने मौसमविद् बासीले जानकारी दिए।तर, अरु ठाउँको मौसम भने सामान्यतया सफा हुने उनको अनुमान छ।