एजेन्सी–बोलिभियामा १४ वर्ष सत्तामा रहेका एभो मोरालेस ल्याटिन अमेरिकाकै इतिहासमा सबैभन्दा बढी समय सत्तामा रहेका नेतामध्ये एक हुन्। अघिल्लो महिना चुनावमा धाँधली भएका विवादमाझ उत्पन्न विरोध प्रदर्शनका कारण यसै हप्ता उनले राजीनामा दिए। अमेरिकालाई टक्कर दिएर सत्तामा टिकेका यी शक्तिशाली नेताले मेक्सिकोमा राजनीतिक शरण लिन लागेका छन्।
मोरालेसको राजनीतिक जीवनको उतारचढाव यस्तो छः
–कोकाको पात बेच्ने समूहका नेता
–बोलिभियाको पश्चिममा अवस्थित एउटा ग्रामीण आदिवासी परिवारमा मोरालेस जन्मिएका थिए।
–कोका रोप्ने किसान नेताका रूपमा उनी राजनीति उदाए।
–कोकेनको कच्चा पदार्थ कोका हजारौँ वर्षदेखि एन्डिज क्षेत्रमा धार्मिक एवम् लेक लाग्ने रोगको उपचार र हल्का नशा दिने पदार्थका रूपमा प्रयोग गर्ने गरिन्छ।
कोकाको खेती अमेरिका र बोलिभियाबीचको विवादको एउटा प्रमुख कारण हो। मोरालेस सन् २००२ मा पहिलो पटक देशका आदिवासी समुदायको पक्षमा शासन गर्ने प्रतिबद्धतासहित राष्ट्रपतिको चुनावमा लडेका थिए। पहिलोपटक उनी विफल भए पनि दोस्रोपटक सन् २००५ को चुनावमा उनी राष्ट्रपति चुनिए।
दशकौँको विभेद र शोषण अन्त्य गर्ने वाचा गरेर सत्तामा आएका उनले नयाँ संविधान ल्याए जसले बोलिभियामा रहेका दर्जनौँ जातीय समूहलाई सम्बोधन गर्न देशलाई धर्मनिरपेक्ष बनायो। अमेरिकाले कोकाको खेती उन्मूलन गर्न दबाब दिएपनि उनले कोका कृषकको अधिकार सुनिश्चित गर्न र कोका खेतीलाई कानुनी मान्यता कायम राखिराख्न कार्य गरे।
अमेरिकासँग तिक्ततापूर्ण सम्बन्ध
अमेरिकी अधिकारीहरूले राष्ट्रपति मोरालेसले कोकेनको उत्पादन र तस्करी रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउने गरेका छन्। तर मोरालेसले आफूले कोकेनको उत्पादन नियन्त्रणका लागि काम गरेको र धार्मिक एवम् सांस्कृतिक प्रयोजनका लागि सानो परिमाणमा कोका खेती गर्न दिएको अडान लिने गरेका छन्।
राष्ट्रपति पदमा हुँदा उनको अमेरिकासँग कहिल्यै राम्रो सम्बन्ध रहेन। सन् २००८ मा उनले आफ्नो देशविरूद्ध षडयन्त्र गरेको आरोप लगाउँदै अमेरिकी राजदूत फिलिप गोल्डबर्गलाई देशनिकाला गर्ने निर्णय गरे। उनले लागुऔषध नियन्त्रणसम्बन्धी अमेरिकी निकायलाई बोलिभियामा काम गर्न बन्देज लगाए। त्यसबाहेक सन् २०१३ मा उनले विपक्षीलाई समर्थन गरेको आरोप लगाउँदै अमेरिकी सहयोग नियोग युएसएआइडीलाई हटाए।
गएको महिना भएको चुनावमा धाँधली भएका आरोपका माझ बोलिभियामा प्रदर्शन भएपछि उनले आइतवार राजीनामा दिएका थिए। त्यसअघि देशका सेनाप्रमुखले उनलाई पद छाड्न सुझाव दिएका थिए। आफ्ना साझेदारहरूलाई निशाना बनाइएको र उनीहरूका घरमा आगजनी गरिएको भन्दै उनले सुरक्षाको लागि राजीनामा दिएको बताएका छन्।
मेक्सिको, भेनेजुएला र क्युबासहितका देशले बोलिभियामा सेनाले ‘कू’ गरेको आरोप लगाउँदै मोरालेसप्रति समर्थन जनाएका छन्।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चाहिँ बोलिभियाका बामपन्थी नेताको बहिर्गमन लोकतन्त्रका लागि महत्वपूर्ण क्षण भएको बताएका छन्।
उनले उक्त कदमले बोलिभियाका जनताको आवाज सुनिने अवसर प्रदान गरेको उल्लेख गरे। उनले पछिल्ला घटनाक्रमले भेनेजुएला र निकारागुवामा रहेका ‘अवैध सत्ता’लाई दह्रो सन्देश दिएको बताएका छन्। ती दुइ देशका नेताहरू र अर्जेन्टिनाका राष्ट्रपति निर्वाचित एलबेर्टो फर्नान्डर्सले मोरालेसलाई समर्थन गरेका छन्।
गरीबी घटाउने नेता
स्वघोषित समाजवादी नेता मोरालेसले सत्ता सम्हाल्ने बित्तिकै आफ्नो र आफ्नो मन्त्रिपरिषद्का सदस्यको तलब घटाउने निर्णय लिएका थिए। त्यसपछि उनले देशमा रहेका तेल र ग्यास उद्योगहरूको राष्ट्रियकरण गरे जसले बोलिभियामा सार्वजनिक लगानी वृद्धि गर्न र वैदेशिक मुद्राको सञ्चिति बढाउन मद्दत गर्याे।
उनको सरकारले गरिबीसँग जुध्न सार्वजनिक परियोजना र समाजिक कार्यक्रममा व्यापक लगानी गर्याे। मोरालेस सत्तामा आउँदा सन् २००६ मा ३८ प्रतिशत रहेको गरिबी सन् २०१७ मा १७ प्रतिशतमा झरेको थियो। तर पछिल्ला दुई वर्षमा चरम गरिबी बढ्दै गएको उनका आलोचकहरूले बताउने गरेका छन्।
उनको बामपन्थी नीति एकदमै क्रान्तिकारी भएको ठान्ने कैयौं मध्यमवर्गीय मानिसहरू मोरालेसबाट सन्तुष्ट थिएनन् बरू चिन्तित थिए। उनका आलोचकहरूले उनी भ्रष्टाचार नियन्त्रण गर्न विफल भएको पनि बताउने गर्छन्।
समुद्रसम्म देशलाई पहुँच दिलाउन विफल
उनको प्रमुख असफलता भूपरिवेष्ठित बोलिभियालाई समुद्रसम्मको पहुँच सुरक्षित गर्न नसक्नु रहेको छ। छिमेकी चीलेसँग जोडिएको उक्त विवादलाई बोलिभियाका जनताले आत्मसम्मानसँग जोडेर हेर्ने गरेका छन्। चिलेसँगको युद्धपछि बोलिभियाले सन् १८८४ मा प्रशान्त महासागरसम्मको आफ्नो पहुँच गुमाएको थियो र त्यसयता त्यसलाई हासिल गर्ने प्रयास उसले गर्दै आएको छ।
सन् २०१८ को अक्टोबरमा इन्टर्न्याशनल कोर्ट अफ जस्टिसले चीलेको पक्षमा निर्णय सुनाएको थियो। बोलिभियालीहरूलाई विजयको एकदमै नजिक रहेको बताउने गरेका मोरालेसका लागि त्यो ठूलो पराजय थियो।
यसै वर्षको अक्टोबरमा सम्पन्न चुनावमा उनी चौथो कार्यकालका लागि राष्ट्रपति पदका उम्मेदवार बनेका थिए। त्यसअघि एउटा विवादास्पद फैसला सुनाउँदै देशको संवैधानिक अदालतले राष्ट्रपतिको कार्यकालको सीमासम्बन्धी प्रावधान खारेज गरेको थियो।
सन् २०१६ मा भएको जनमत सङ्ग्रहमा बहुमतले बोलिभियाका राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा हटाउने प्रस्तावमा ’हुँदैन’ भन्ने पक्षमा मत जाहेर गरेका थिए। तर मोरालेसको दलले उक्त विषयलाई संवैधानिक अदालतमा पु¥यायो र उक्त अदालतले कार्यकालको सीमालाई सम्पूर्णरूपमा हटाउने निर्णय गरेको थियो।
मेक्सिकोमा शरण
पछिल्लो चुनावबाट मोरालेस पुनः राष्ट्रपति भएपनि अनुगमनकर्ताहरूले चुनावमा धाँधली भएका पुष्टि गर्दै त्यसलाई मान्यता दिन नसक्ने बताएका थिए। मेक्सिकोका विदेशमन्त्रीले बोलिभियाको सेनाले राजीनामा दिन बाध्य पारेर मोरालेसको सत्तापलट गराएको र त्यो असंवैधानिक भएको पनि जिकिर गर्दै उनलाई शरण दिन लागिएको बताएका छन्।
उनले आफ्नो देशको विद्यमान कानुनी व्यवस्था अनुसार मोरालेसलाई उनको जीवनमा रहेको जोखिमलाई ध्यान दिदैँ मानवताका आधारमा शरण दिने निर्णय गरिएको पनि बताए। मेक्सिकोको विदेश मन्त्रालयले आफ्नो सरकारको निर्णय मोरालेसले स्वीकार गरेको जनाएको छ।
उनी मेक्सिकोले उपलब्ध गराएको विमानमा चढेको बताइन्छ। एउटा ट्विटमा मोरालेसले बोलिभिया छाड्नुपर्दा आफूलाई दुख लागेको उल्लेख गर्दै थप शक्ति र ऊर्जासहित फर्कने उल्लेख गरेका छन्। बीबीसी