काठमाडौं –साइबर अपराधमा ‘इमेल फिसिङ’ व्यापारिक कारोबारदेखि गोप्य कुराकानीमा निगरानी गर्न नयाँ तरिका सुरु गरेको छ।
सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो।
पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौं रुपैयाँ ठगी हुने गरेको छ। महानगरीय अपराध महाशाखामा मासिक १० देखि १५ उजुरी ‘इमेल फिसिङ’को पर्ने गरेको छ।
‘इमेल फिसिङ’ भनेको दुईजना व्यवसायी वा आफन्तबीच इमेलमा भएको कुराकानी अपरिचित व्यक्तिले बीचमा बसेर गोप्य निगरानी गर्ने र व्यवसायी वा आफन्तबीच इमेलमार्फत रकमको कारोबार हुन थालेपछि मेल आईडी, बैंकको खाता नम्बर र देशसमेत इमेलमार्फत परिवर्तन गरेर रकम ठगी गर्नु हो।
अपराध महाशाखा साइबर शाखाका प्रमुख, प्रहरी निरीक्षक लिलाराज डाँगी नेपालबाट विदेशमा हुने कारोबारमा बढी ‘इमेल फिसिङ’ हुने गरेको बताउँछन्। ‘विदेशबाट सामान आयात गरेर इमेलमार्फत रकम भुक्तानी गर्दा, ट्रेकिङ, ट्राभल्स, टुर्स कम्पनीको बढी ‘इमेल फिसिङ’ हुने गरेको छ,’ उनी भन्छन्।
प्रतिष्ठित व्यक्तिको फेसबूक, ट्विटर ह्याक गरेर गोप्य सूचना लिएर रकमको बार्गे्निङ गर्ने, अर्काको नाममा फेसबूक तथा ट्विटर खोलेर गोप्य सूचना लिने र दुःख दिने गरेको उजुरी प्रहरीकोमा आउने गरेको महाशाखाले जनाएको छ। महाशाखामा चालू आर्थिक वर्षको पछिल्लो ३ महिनामा साइबर अपराधसम्बन्धी ४५२ उजुरी दर्ता भएका छन्।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापा सामाजिक सञ्जाल फेसबूक, ट्विटरमा चिठ्ठा र्पयो भनेर १ करोड रुपैयाँसम्म ठगी गरेको उजुरी महाशाखामा परेको बताउँछन्। ‘विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेर समेत ठगी भएको छ,’ उनी बताउँछन्।
महाशाखाका अनुसार युवा वर्ग बढी संख्यामा साइबर अपराधमा लागेका छन्। जसमध्ये १० वर्षदेखि २० वर्ष उमेर समूहका २२.०५ प्रतिशत, २० देखि ३० वर्ष समूहका ३९.९२ प्रतिशत, ३० देखि ४० वर्ष उमेर समूहका २९.९१ प्रतिशत र ४० देखि ६० वर्ष उमेर समूहका ७.९८ प्रतिशत व्यक्ति साइबर अपराधमा लागेका छन्।
‘सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गरेको छ,’ उनी भन्छन्। साइबर कानूनका बारेमा विद्यालय, कलेज तथा क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको महाशाखाले जनाएको छ। साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ।
महाशाखामा चालू आवमा साइबर अपराधमा ४५२ उजुरी दर्ता भएपनि ११ जनाविरुद्ध मुद्दा चलाएको छ। सामाजिक सञ्जालमा छ, ह्याकिङ गर्ने २ र जथाभावी एसएमएस गर्ने ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
आव २०७३र०७४ मा १ हजार १९७ उजुरी दर्ता भएकोमा २६ जनाविरुद्ध मुद्दा चलेको थियो। आव २०७४र०७५ मा १ हजार ४८२ उजुरी दर्ता भएकोमा ६८ जनाविरुद्ध मुद्दा दर्ता भएको तथा आव २०७५र०७६ मा १ हजार ९३८ उजुरी दर्ता भएकोमा ६७ जनाविरुद्ध मुद्दा दर्ता भएको महाशाखाले जनाएको छ।
महाशाखाका प्रमुख थापा साइबर ऐन नबन्दा मुद्दा चलाउने सम्बन्धमा केही समस्या भएको बताउँछन्। अहिले साइबर अपराधलाई महाशाखाले विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही गर्दै आएको छ। विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध गर्नेलाई ५ वर्षसम्म जेल वा १ लाख वा दुवै सजाय हुने प्रावधान छ।
साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको महाशाखाको तथ्यांकमा उल्लेख छ। नेपाल प्रहरीले पछिल्लो समय साइबर अपराधका घटनामा वृद्धि भएपछि केन्द्रीय साइबर ब्यूरो स्थापनासमेत गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विशेष सक्रियतामा विक्रम संवत् २०७५ सालमा केन्द्रीय साइबर ब्यूरो स्थापना भएको हो।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रविधिको विकाससँगै सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि केन्द्रीय साइबर ब्यूरो स्थापना गरिएको बताउँछन्। साइबर ब्यूरो हाल भोटाहिटीबाट सञ्चालनमा आएको छ।
स्रोत र साधनको अभावका कारण साइबर ब्यूरोले साइबर घटनाबारे पूर्ण अनुसन्धान गर्न नसकेपनि केही घटनाको भने अनुसन्धान गर्दै आएको छ। महाशाखाले समेत अहिले साइबर अपराधका घटनाको अनुसन्धानका लागि ब्यूरोमा पठाउन थालेको छ।
प्रहरीले लागू गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले साइबर अपराधसमेत रोकथाम हुने विश्वास प्रहरी प्रधान कार्यालयले लिएको छ।रासस