काठमाडौं– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल परिवर्तन हुने हल्लामात्र भएको बताएका छन्।मंगलबार मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीका भरोसायोग्य सारथि भएकाले रिमाल परिवर्तन हुने हल्ला मात्र हुने बताएका हुन्।
मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको भरोसायोग्य सारथि रिमालमात्र भएकाले परिवर्तन नहुने आशय व्यक्त गरेका हुन्। ‘प्रमको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको भरोसायोग्य सारथि हो कमरेड विष्णु रिमाल’, मुख्यमन्त्री पोखरेलले फेसबुकमा लेखेका छन्, ‘प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ।’
प्रधानमन्त्री निकट मानिने मुख्यमन्त्री पोखरेलले रिमाल परिवर्तन नहुने उल्लेख गरेका हुन्। प्रधानमन्त्री ओलीले गत शुक्रबार सबै सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिए छन्। ओलीले मंसिर १ गतेदेखि लागू हुनेगरी सबैलाई एकसाथ राजीनामा दिन निर्देशन दिएका हुन्। रिमालको कार्यशैलीप्रति नेकपाभित्रै चर्को असन्तुष्टि छ। नेताहरुले रिमालले बालुवाटारमा पूर्वमाओवादी समूहलाई निषेध गर्ने गरेको आरोप लाग्दै आएको छ।