तुलसीपुर– दाङको घोराही उपमहानगरपालिका–१७ बेलभारस्थित ‘ड्रिम पार्क’ पर्यटकीय केन्द्र बन्दै गएको छ।
श्रीधरकुमार घिमिरेले डेढ लाख लगानीमा सञ्चालनमा ल्याएको उक्त पार्कमा दैनिक ३ सय सम्म पर्यटक आउने गरेका छन्। अहिले जिल्लाभित्रका पर्यटकको नयाँ गन्तव्य बनेको छ। मनोरञ्जन लिनका लागि धेरै व्यक्ति यहाँ आउने गरेको उनले बताउका छन्।
पार्कमा यति एयरलाइन्सको ३४ सिटे एसएएवी–३४० ‘वि’ प्लेन राखिएको छ। यसका साथै पार्कमा डेमपोलिङ, घोडा, ढिकीच्याउ, चिप्लेटी र पिङ मनोरञ्जनका लागि राखिएको छ। ‘पुरानो प्लेन किनेर पार्कमा राखिएको छ। यसमा फोटो खिच्ने र हेर्नेको भीड लाग्छ।
पुतलीको पङ्खा जोडेर तस्बिर लिने, भिडियो बनाउने, लभ गार्डेनमा पनि युवायुवतीको आकर्षण देखिन्छ’, उनले भने, ‘यहाँ आउने पर्यटकले केही न केही शिक्षा लिएर फर्किने आशा छ।’
आउँदै गरेको पर्यटन वर्षमा पार्कको औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेकोसमेत उहाँले बताउनुभयो। जहाजसहितको ड्रिमपार्क निर्माणका लागि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ग्राउन्डेड यति एयरको ३४ सिटे जहाज ल्याइएकोे हो। त्यो ड्रिमपार्क्भित्र जानेले प्लेन चढेको अुनभव गर्न पाउन र नचढेकाले पनि त्यसको अनुभूति गर्न पाउन भन्ने उद्देश्यले पार्क निर्माण गरिएको घिमिरेले बताए।
आगामी दिनमा अझ व्यवस्थित बनाउने योजना घिमिरेको छ। हाल व्यक्तिगत दुई बिघा क्षेत्रफलमा निर्माण शुरु गरिएको यो ड्रिम पार्क भविष्यमा पाँचदेखि सात बिघा जग्गा क्षेत्रफलमा विस्तार गर्ने लक्ष्य राखिएको छ। त्यसै बसेर समय बिताउनुभन्दा केही गर्ने उद्देश्यका साथ हवाई जहाजसहितको ड्रिमपार्क निर्माण गरिएको बताए।
साँच्चिकै उडानमा जाने यात्रुलाई प्लेनभित्र चढ्दै गर्दा एउटा एयर होस्टेज ढोकामा स्वागतार्थ राख्ने उनको योजना छ। ३४ सिट क्षमताको जहाज त्यहाँ राखिएपछि निर्माणाधीन पार्क हेर्न जानेको संख्या दिनानुदिन बढ्दै गएको छ। हिजोआज विद्यार्थीको बिदाको समय भएका कारण दैनिक ३०० पर्यटक यहाँ आउने गरेका छन्।
राप्ती गाउँपालिका–२ लालमटियका हरसिका रोका सामाजिक सञ्चालनमार्फत आफूले थाहा पाएपछि ड्रिम पार्कसम्म घुम्न आएको उनको भनाइ छ। आफू र छोरासहित उनी सोमबार घुम्न र मनोरञ्जन लिन आएको उनले बताए। रासस