काठमाडौं– निर्देशक हेमराज वीसीको चलचित्र ‘होस्टेल’ निर्देशन गर्दा तारिफ नै तारिफ भयो। हेमराज वीसी लभ स्टोरी चलचित्र निर्देशनमा उदाए। यो चलचित्रबाट नायक अनमोल केसी पनि उदाए।
लगत्तै, अनमोल र हेमराजले चलचित्र ‘जेरी’मा काम गरे। यो चलचित्र पनि बक्स अफिसमा सफल भयो। हेमराज र अनमोलको तेश्रो सहकार्यको रुपमा बनेको चलचित्र ‘गाजलु’ पनि बक्स अफिसमा सफल भयो।
हेमराज र अनमोलले एकसाथ सहकार्यमा ह्याट्रिक गरे। यसपछि, भने अनमोल र हेमराजको सम्बन्ध विग्रिएको गसिप सार्वजनिक भए। तर, अनमोल केसीको टेबुलमा हेमराजको अफर पुगिरहेको थियो। तिन हिट चलचित्र दिएर हेमराज सफल निर्देशकको रुपमा चिनिएका थिए। उनलाई चलचित्र निर्देशनमा लिनका लागि निर्माताले धेरै समय सोचेनन्। उनको माग एक्कासी चुलियो।
अनमोल केसीसँगको सहकार्य बाहिर रहेर हेमराजले बनाएको पहिलो चलचित्र थियो, ‘सम्बोधन’। दयाहाङ राई, नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र बक्स अफिसमा चिसो भयो।
यसपछि, हेमराजले नायक आशिरमान देशराज र नायिका आना शर्मालाई लिएर चलचित्र ‘ग्याङस्टार ब्लूज’ बनाए। हुनत, यो चलचित्रको अफर पनि नायक केसीलाई गएको थियो। तर, विविध कारणले केसीले यो चलचित्रमा काम गरेनन्। बक्स अफिसमा यो चलचित्र चिप्लियो। समिक्षक र दर्शकले पनि यसलाई राम्रो चलचित्र भन्न सकेनन्।
हेमराजले यसपछि बनाएको अर्को चलचित्र हो, ‘दि ब्रेकअप’। आशिरमान देशराज र शिल्पा मास्केलाई लिएर उनले निर्देशन गरेको यो चलचित्रले झनै खराब व्यापार गर्यो। यो चलचित्र नायक केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’ सँग जुधेको थियो। बक्स अफिसमा हेमराज अनमोलविना तेश्रो पटक चिप्लिए।
उनै, हेमराज निर्दे्शित नयाँ चलचित्र ‘घामड शेरे’ अहिले हलमा लागिरहेको छ। यो चलचित्रको व्यापार पनि सुखद छैन। निश्चल बस्नेत र स्वस्तिमा खड्का जस्ता कलाकार भएको यो चलचित्रले पनि सुखद व्यापार नगर्दा हेमराजले चलचित्र निर्देशन गर्नु अगाडि धेरै पटक सोच्नुपर्ने अवस्था आएको छ।
अनमोलसँग तिन पटक सहकार्य गर्दा तिनै पटक हिट भएका हेमराज यसपछि लगातार चौथो पटक चिप्लिएका छन्। आखिर, अनमोल केसीविना हेमराजका चलचित्र किन चल्दैनन्? यो प्रश्न भने चलचित्र क्षेत्रमा उब्जिन थालेको छ।
के अनमोल विना हेमराज सधैं असफल हुने हुन् भने फेरि अनमोललाई लिए सफल होलान् त?