काठमाडौं–वृत्तचित्र मार्फत दक्षिण एसियाका चलचित्र निर्देशक, दर्शक र आम सरोकारवालालाई जोड्ने साझा थलो मानिन्छ, ‘फिल्म साउथ एसिया महोत्सव’।
१९९७ देखि प्रत्येक दुई वर्षमा हुने महोत्सवको १२ औं संस्करण यही बिहीबारदेखि पाटनको यलमाया केन्द्रमा सुरू हुँदैछ।
‘ह्वेयर द माइन्ड इज फ्रि’ मूल नारा बोकेको यो चार दिने महोत्सव कात्तिक २८ देखि मंसिर १ गतेसम्म चल्नेछ।
६४ ओटा वृत्तचित्र प्रदर्शन हुने ‘फिल्म साउथ एसिया २०१९’ मा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश, अफगानिस्तान, म्यानमारलगायतका देशबाट २५ सयभन्दा बढी वृत्तचित्र प्राप्त भएको जनाइएको छ।
पहिलो पटक अनलाइनबाटै फिल्म पठाउन मिल्ने भएकाले यस पटक २५ सयभन्दा बढी फिल्म प्राप्त भएको महोत्सवका सहायक निर्देशक आलोक अधिकारीले जानकारी दिए।
फिल्म छनोटमा संलग्न आलोकका अनुसार तीन चार चरण पार गरी छानिएका उत्कृष्ट ६४ वृत्तचित्रमध्ये ‘मेन सेलेक्सन’ मा ५२ र ‘स्टुडेन्ट फिल्म’अन्तर्गत १२ फिल्म प्रदर्शन हुनेछन्।
६४ वृत्तचित्रमध्ये ५२ वटाले उत्कृष्ट पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतिस्पर्धामा उत्कृष्ट हुने वृत्तचित्रले रामबहादुर ट्रफीसहित दुई हजार अमेरिकी डलर प्राप्त गर्नेछ।
द्वितीय वृत्तचित्रले एक हजार अमेरिकी डलर पुरस्कार र ‘डेब्यु’ निर्देशकतर्फ उत्कृष्ट वृत्तचित्रले ‘तारेक मसूद पुरस्कार’ अन्तर्गत एक हजार अमेरिकी डलरको पुरस्कार प्राप्त गर्नेछन्।
बालबालिकाको विषयमा केन्द्रित वृत्तचित्रमध्ये उत्कृष्ट वृत्तचित्रले ‘युनिसेफ पुरस्कार’ स्वरूप एक हजार अमेरिकी डलर पाउनेछ।
‘स्टुडेन्ट फिल्म’ तर्फ उत्कृष्टले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने जनाइएको छ।
महोत्सवको पहिलो दिन ‘स्टुडेन्ट फिल्म’ अन्तर्गत छनोटमा परेका १२ वृत्तचित्र प्रदर्शन हुने जनाइएको छ।
दक्षिण एसियाली मानिसका निजी भोगाइ, समसामयिक मुद्दा र संस्कृति एकै ठाउँमा हेर्न बुझ्न पाइने यो महोत्सव नेपाली फिल्मकर्मीका लागि आफ्नो काम देखाउने ठाउँ पनि हो।
महोत्सवमा यस पटक भने जम्मा तीन नेपाली वृत्तचित्रले मात्रै स्थान पाउन सफल भएका छन्। जसमध्ये डाक्टर गोविन्द केसीबारे बनेको वृत्तचित्र ’आइ एम विथ डाक्टर केसी’ पनि समावेश छ।
महोत्सवको निर्णायक टोलीमा पत्रकार कुन्द दीक्षित, श्रीलंकन निर्देशक सुमाथी शिवामोहन र भारतीय भिजुअल आर्टिस्ट आयशा अब्राहम छन्। कार्यक्रमको भव्य तयारी भईरहेको छ।