काठमाडौं _ एटीएम ह्याकको विषयमा सिंगापुर टोलीले अध्ययन प्रतिवेदन तयार पारेको छ।
एटिएम ह्याक गरी चिनियाँ ह्याकरहरुले ३ करोड ५८ लाख रुपैयाँ चोरी गरिएको प्रकरणमाथि सिंगापुरको विज्ञ टोलीले अध्ययन प्रतिवेदन तयार गरेको हो। सिंगापुरबाट आएको टोलीले नेपाल आएर ४ दिन स्थलगत अध्ययन गरेको थियो।
तीन महिनामा रिपोर्ट बुझाउने भन्दै तयार भएको जानकारी दिइएको छ। नेपालका १८ वटा बैंकहरुले एटीएमका लागि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड(नेप्स) को स्वीच प्रयोग गरिरहेका छन्। ती बैंकहरुको एटीएममा समेत आक्रमण भएपछि सिंगापुरबाट नेप्सकै सक्रियतामा टोली झिकाइएको थियो।
नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण क्षेत्रीले सिंगापुरको टोलीले प्रतिवेदन चाँडै पठाउने जानकारी दिए। यही महिना (नोभेम्बर) भित्रै प्रतिवेदन आउने सम्भावना रहेको भए पनि यसै दिन आउँछ भन्न नसकिने उनले बताए।
सिंगापुरबाट आएको ४ सदस्यीय टोली ४ दिन नेपाल बसेर भदौ २३ गते स्वदेश फिर्ता भएको थियो। ह्याकिङ प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकहरु पुर्पक्षका लागि जेल चलान भइसकेका छन्।
एटीएम सिस्टम ह्याक गरी चिनियाँ ह्याकरहरुले नेपाली बैंकको साढे ३ करोड रुपैयाँ भन्दा बढी रकम निकालेका थिए। चिनियाँ ह्याकरले भारतबाट १ करोड ७० लाख रुपैयाँ निकालेको अध्ययनले देखाएको थियो।