काठमाडौं _ सडक निर्माण कार्यमा ढिलाई भएको भन्दै स्थानीयबासीले ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनका सञ्चालक अधिकारीको फोटो सार्वजनिक स्थानमा टास्दै हिडेका छन्।
दुई वर्षमा निर्माण बनिसक्नुपर्ने भत्केकोपाटी(नगरकोट सडक साढे सात वर्ष बितिसक्दा पनि नबनेको भन्दै ठेकेदार कम्पनीका सञ्चालक अधिकारीको फोटो सार्वजनिक स्थानमा टास्न बाध्य भएका हुन।्
नगरकोट त्यसआसपासका विभिन्न सार्वजनिक स्थान र त्यहाँ चल्ने सवारीहरुमा ठेकेदार शारदाप्रसाद अधिकारीका फोटो टाँसिएको देखिन्छन्। उनका कतिपय फोटोमाथि त झन कुुकुर र बाँदरका तस्वीर समेत जोडिएका छन्। साथै स्थानीयले फोटो सँगै ‘शारदा अधिकारी ठेकेदार, सडकको कालोपत्र छिटो गर।’ भनेर नारा समेत लेखेका छन्।
स्थानीय राजनारायण लामिछानेका अनुसार पटक पटक माग राखेर अनुरोध, समन्वय र विरोध गर्दा पनि माग पुरा नभएको भन्दै ध्यानाकर्षणका लागि नयाँ शैली अपनाउन परेको बताउँछन्।
निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र छाडिएको सडकमा खाल्डैखाल्डा छन्। घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने हुँदा स्थानीयबासी समस्यामा पर्दै आएका छन् भने सडक समयमै नबन्दा नगरकोट जाने पर्यटक पनि प्रभावित भएका छन्।
२ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरेर सडक छिटो बनाउन माग गर्दै केही समय अघिदेखि स्थानीयबासिन्दा आन्दोलनमा छन्। एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी(खरिपाटी(तेलकोट हुँदै नगरकोटसम्म पुग्ने ४० किलोमिटर सडक दुई वर्षभित्रै सम्पन्न गर्ने जिम्मा शैलुङ कन्सट्रक्सनले पाएको छ। तर, साढे सात वर्ष पुगिसक्दा पनि काम कहिले सकिने भन्ने टुंगो छैन।
पर्यटन वर्ष(२०२० नजिकिँदै गर्दा समेत सडक निर्माणमा खासै प्रगति नभएपछि स्थानीय बासिन्दाले विभिन्न किसिमका दबावमूलक कार्यक्रम गरिरहेका छन्। सडक विभागअन्तर्गत सडक सुधार आयोजनाले कुल २८ करोडको लागतमा विस्तार गर्न लागेको सडकको विस्तारका लागि आयोजनाले ठेक्का लगाएको थियो।
नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटकको चापसँगै यातायातका साधनको चाप पनि बढेपछि सडकलाई विस्तार गरी अब ७ मिटर कालोपत्र बनाउन लागिएको हो।