वासुदेव पौडेल
पोखरा, १४ माघ - बागलुङ जिल्लास्थित काठेखोला गाउँपालिका–५ बिहुँकोटमा अवस्थित रामकोट धाम जिल्लाकै प्रसिद्ध तीर्थस्थल मध्येको एक हो। स्वामी श्री १००८ परमानन्द सरस्वती महराजले तपस्या र ज्ञान हासिल गरेपछि विसं २०२९ मा सामान्य मन्दिर बनाएका थिए। सोही स्थानमा २०३३ सालमा त्रिपुरेश्वर महादेव मन्दिरका रूपमा अर्को मन्दिर निर्माण गरिएको थियो ।
रामकोट धामका रूपमा परिचित उक्त स्थानमा विसं २०६६ मा धान्याञ्चल महायज्ञ गरी नयाँ स्वरूपमा भव्य मन्दिर निर्माण गरिएको छ। मन्दिरमा हरिहरानन्द स्वामीले नियमित पूजाआजा गर्दै आएका छन्र। उक्त परिसरमा परमानन्द सन्न्यास आश्रम पनि सञ्चालनमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर सन्न्यास आश्रम व्यवस्थापन समितिका सचिव हरिप्रसाद कँडेलले जानकारी दिए।
उनका अनुसार मन्दिर तथा आश्रम क्षेत्रको करिब १ सय ४२ रोपनी जग्गाभित्र ८ कोठाको परम सत्यसाधक निवासका साथै ८ कोठाको अतिथि निवास रहेको छ। परिसरमा नै अर्को एउटा हलसहित, दुई कोठा र माथिल्लो तल्लामा चारवटा कोठा सहितको अतिथि निवास निर्माणको तयारी भइरहेको सचिव कँडेलले जानकारी दिए।
निर्माणाधीन भवनमा एउटा कोठा निर्माणका लागि बिहुँकोट समाज जापानका तर्फबाट १० लाख रुपैयाँ सहयोग प्राप्त भइसकेको छ। आवास निर्माणसँगै देवघाटबाट बटुक ल्याएर यहीँ अध्ययन गराउने गरी तयारी भइरहेको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङबाट करिब २२ किलोमिटर बुर्तिबाङ जाने मार्गमा पर्ने बिहुँ देउरालीबाट करिब १० मिनेटको हिँडाइपछि रामकोट धाम पुग्न सकिन्छ।
लालीगुराँस सहितको रमणीय जङ्गलले घेरिएको यस धाम वरपर मृग, हरिण, खरायो चितुवा जस्ता वन्यजन्तु पाइन्छन् भने विभिन्न प्रजातिका चराचुरुङ्गी समेतले यहाँको वातावरण रमणीय बनाएको छ।(रासस)