जाजरकोट–भेरी नगरपालिकाको शैक्षिक अवस्था सुधार गरी जिल्लाकै नमूना बनाउने अभियानमा जुटेका नगरप्रमुख चन्द्रप्रकाश घर्ती आफै विद्यार्थी पढाउँदै आएको छ।
विद्यालय अनुगमण तथा निरीक्षणमा दैनिक जाने नगरप्रमुख घर्तीले विद्यालयको भौतिक संरचना मात्र हेर्नुहुन्न, विद्यार्थीको सिकाइ उपलब्धि बुझ्न विद्यार्थी पढाउने काम समेत गदै आएको छ।
नगर प्रमुख घर्तीले आफ्नो मुलुकको भविष्य बोक्ने आजका कर्णधार बालबालिकाको शिक्षा के कस्तो रहेछ भनी छड्के जाँच गर्दै सिकाइ उपलब्धिसमेत जाँच गर्न आफैले पढाउने गरेको बताएका छन्।
विज्ञान र गणितमा राम्रो ज्ञान भएका र अन्तर्रा्ष्टियस्तरको खेलकूदमा छवि बनाएका उहाँले मावि तहको कक्षा फुर्सद हुने वित्तिकै पढाउने गरेको बताएका छन्।
शिक्षामा लगानी गरेर मात्र नहुने भन्दै घर्तीले भने, ‘निरन्तर खबरदारी, अनुगमण र शिक्षण सिकाइ क्रियाकलाप कस्तो छ भनि अध्ययन गर्नु पनि मुख्य कुरा हो।’ उनले प्रशिक्षण अनुसारको सुधार भएको छ कि छैन भनि विद्यालयमा दैनिक जाने गरेको बताएका छन्। शिक्षालाई प्राविधिसँग जोडेर परिणाममुखी बनाउनुपर्ने उनको भनाइ छ।
उनले भने, ‘हामीले विद्यालयको समस्या विद्यार्थीको मुखबाट सुन्ने हो, कहाँ के समस्या छ भन्ने कुरा, अनि पो सुधार गर्न सजिलो हुन्छ, को शिक्षक कति दिन विद्यालय आए, को आएका र कति पढाइ भयो किताब नहेरी कहाँ थाहा हुन्छ।’
कक्षामा नगरप्रमुख जान थालेपछि शिक्षक पनि आफ्नो शिक्षणकार्य सुधार गर्नुपर्ने भन्दै सक्रिय भएका विद्यार्थीले बताएका छन्। आजभोलि विद्यालयमा शिक्षकले निरन्तर पढाउनुका साथै विद्यार्थीसँग छलफलसमेत बढी नै गर्दैआएका सरस्वतीमावि काफलचौरका विद्यार्थी रोशन पुनले बताएका छन्। (रासस)