काठमाडौं —अनाधिकृत रुपमा मिर्गौला प्रत्यारोपण गराइएको घटनामा संलग्न भएको आरोपमा निदान अस्पतालका सीईओसहित ५ जनालाई कारागार चलान गरिएको छ।
जिल्ला अदालत, ललितपुरले मंगलबार अस्पतालका कार्यकारी अधिकृत (सीईओ) विपेन्द्र प्रधानसहित ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि उनीहरुलाई पुर्पक्षका लागि नख्खु कारागार चलान गरिएको हो।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो (एचटीबी) ले एक महिना लामो अनुसन्धानपछि पक्राउ गरी २९ असोजमा प्रधानसहित लिगल अफिसर कुमुदकुमार भट्टराई, चिकित्सक डा. राजेश पन्त, जिल्ला प्रशासन कार्यालय, ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मिर्गौला प्रत्यारोपण गरिएका रामेछापका शंकारलाल लामालाई सार्वजनिक गरेको थियो।
प्रकरणमा संलग्न ४ जना भने अझै फरार छन्। शंकरका छोरा शिशिर (जसले मिर्गौला किनबेचका लागि सबै काम गरेको मानिएको छ) सँगै सक्कली भाञ्जा सञ्जिव घिसिङ र उनकी फुपुलाई पनि फरार प्रतिवादी कायम गरिएको थियो।
सक्कली भाञ्जा घिसिङको कागजपत्र देखाएर ३ लाख रुपैयाँ प्रलोभनमा अर्कै व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको अभियोग छ। पक्राउ परेका लामाबाहेकका ४ जना प्रत्यारोपणका लागि सिफारिस समितिमा आबद्ध अधिकारीहरु हुन्।
घटनाका मुख्य विचौलिया हालसम्म पक्राउ पर्न सकेका छैनन्। उनीहरु सबैमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि ५ लाख रुपयाँसम्म जरिवाना माग दाबीसहित अभियोग दर्ता छ।