काठमाडौं–‘फिल्म साउथ एसिया फेस्टिभल’ काठमाडौंमा आयोजना हुने भएको छ। विगत २२ वर्ष पहिलेदेखि सुरु भएको यस फेस्टिभलको यो १२औं संस्करण हो। हरेक दुई वर्षमा नेपालमा नै यस फेस्टिभल आयोजना हुने गर्दछ। कात्तिक २८ गते बिहीबारबाट सुरु हुने यो फेस्टिभल ४ दिनसम्म चल्ने छ ।
यस फेस्टिभलमा साउथ एसियाका विभिन्न देशमा निर्माण भएका डकुमेन्ट्री चलचित्रहरुको प्रदर्शन गरिन्छ। यस वर्षको लागि ६३ वटा डकुमेन्ट्री चलचित्रहरु छनोट गरिएको आयोजक संस्था द साउथ एसिया ट्रस्टका अध्यक्ष कनकमणि दीक्षितले बताए। उनले भने, ‘हामीले साउथ एसियाका विभिन्न देशबाट ६३ वटा चलचित्र छनोट गरेका छौँ। जसमा विभिन्न देशका तत्कालीन विषयबस्तुलाई प्रस्तुत गरिएको छ।’
यस फेस्टिभलको लागि साउथ एसियाका विभिन्न देशबाट डकुमेन्ट्री चलचित्रहरुमा काम गर्ने व्यक्तित्वहरुको पनि उपस्थिति रहने कार्यक्रम निर्देशक मितु बर्माले बताइन्। भारतीय नागरिक मितुले भनिन्, ‘नेपाल भनेको शान्तिको देश हो। यहाँ स्वस्च्छ हावा पाइन्छ। यहाँ आउन सजिलो पनि छ। त्यसैले पनि यस फेस्टिभलको लागि धेरै यहाँ आउनु हुनेछ।’
अन्य देशमा विभिन्न कारणले प्रत्येक देशका डकुमेन्ट्रीहरु प्रदर्शन हुन सक्दैनन्। तर, नेपालमा त्यो कुरामा रोक छैन। त्यसैले पनि नेपाल आकर्षणको केन्द्र बन्न सकेको अध्यक्ष दीक्षितको भनाइ छ। उनले भने, ‘पाकिस्तानको डकुमेन्ट्री भरातमा देखाउन सकिन्न। त्यस्तो धेरै देशमा छ। तर, नेपालमा त्यस्तो छैन। यहाँ त पकिस्तानमा बनेको पाकिस्तानमा नै देखाउन नमिल्ने डकुमेन्ट्रीलाई पनि समावेश गरेका छौँ।’
यस फेस्टिभलले विभिन्न देशमा रहेर डकुमेन्ट्री चलचित्रमा काम गरिरहेका व्यक्तित्वहरुलाई भेट गराउने र वार्ता गराउन पनि सहयोग गर्ने आयोजक पक्षको भनाइ छ। उक्त कुरालाई लिएर विभिन्न देशका डकुमेन्ट्री चलचित्रकर्मीहरु पनि उत्साहित छन्। जेहोस् विगतको तुलनामा कार्यक्रम अझैं लाभदायी हुने आशा गरिएको छ।