काठमाडौं– नायक आर्यन सिग्देल अहिलेका चल्तीका नायक नै हुन्। नेपाली चलचित्र क्षेत्रमा नायक आर्यन सिग्देलको आगमन यस्तो समयमा भयो, जुन समय चलचित्र क्षेत्रमा चकलेटी नायकहरुको बाहुल्यता थियो। चलचित्र क्षेत्रले चकलेटी अनुहारलाई नै विशेष स्थान दिइरहेको थियो। सोही समय चकलेटी अनुहारमा आर्यनले छुट्टै स्थान बनाए। उनको क्रेज लोभलाग्दो बन्यो।
आर्यनलाई चर्चाको उत्कर्षमा पु¥याउने चलचित्र बन्यो, ‘मेरो एउटा साथी छ’। सुदर्शन थापा निर्दे्शित उक्त चलचित्रले आर्यनलाई स्टारडमको ‘किङ’ बनायो। चलचित्रमा आर्यन चकलेटी लभर व्याईको भूमिकामा प्रस्तुत भएका थिए। जताततै आर्यनको लुक्स र अभिनयको चर्चा चल्यो।
आर्यनलाई चर्चामा ल्याउने चलचित्र ‘मेरो एउटा साथी छ’ को साहयक भूमिकामा नायक दयाहाङ राई देखिएका थिए। त्यो सयम दयाहाङलाई कसैले चिनेनन्, वास्ता पनि गरेनन्। आर्यन लभ स्टोरी चलचित्रमा राज गर्दै गए। उनको घरमा स्क्रिप्टको खात बढ्दै गयो। समय यसरी बद्लियो कि, आर्यनलाई चर्चा दिने चलचित्रमा ‘नोटिस’ नभएका दयाहाङ कै कारण आर्यनलाई फेरि एकपटक स्टारडमका लागि संघर्ष गर्नुपर्यो।
निश्चल बस्नेत निर्दे्शित चलचित्र ‘लुट’बाट दयाहाङ राई मुख्य भूमिकामा देखिए। नेपाली चलचित्रको ट्रेन्ड चेन्ज गर्न सफल भएको यो चलचित्रबाट दयाहाङ राई पनि चम्किए। दयाहाङले त ‘हिरो’को परिभाषा नै बदलिदिए । हिरो हुनलाई सुन्दर र चकलेटी अनुहार हुनुपर्छ भन्ने मान्यता उनले तोडिदिए।
यसको प्रत्यक्ष असर त्यसबेला राज गरिरहेका आर्यनलाई नै प¥यो। दयाहाङ, सौगात मल्ल, विपिन कार्की जस्ता कलाकारहरुको उदयले आर्यन छायामा परे। आफ्नो स्टारडम खोज्नको लागि आर्यनले पुनः संघर्ष सुरु गर्न बाध्य बनायो।
थिएटरबाट जन्मिएका कलाकारहरुको दबदबा बढेपछि धेरै कलाकारहरु पाखा लागे। तर, आर्यनले चलचित्र क्षेत्र छोड्न सकेनन्। निरन्तर रुपमा चलचित्रमा काम गरिरहेका छन्,आर्यन।
करिअर ठिकठाक चलिरहेकै थियो। आर्यन आफ्नो स्थान फर्काउन कसरत गरिरहेका थिए। सोही समय आर्यनलाई साथी–भाइको भनेर चलचित्रमा काम गर्नुपर्ने बाध्यता आइप¥यो। उनले साथीहरुको मन राख्नको लागि जस्तो पनि चलचित्रमा काम गरे। जसले गर्दा आर्यनका दर्शक भड्किए। आर्यनमाथिको भरोसा टुट्यो।
पछिल्लो समय आर्यन चलचित्र छनोटमा गम्भिर छन्। स्क्रिप्ट र टिम चित्त नुबुझेसम्म चलचित्रमा काम गर्दैनन्। तर, आर्यनको ब्याडलक नै मान्नुपर्छ उनी अभिनित चलचित्रहरु सफल भइरहेका छैनन्। र पनि आर्यनले हरेश खाएका छैनन्। उनी दर्शकको मायामा नम्बर १ बन्ने दौडमा दौडिरहेका छन्।
आर्यन अभिनित पछिल्लो चलचित्रहरु ‘रुद्रप्रिया, कायरा, हजार जुनीसम्म’ लगतार असफल भए। जुन चलचित्रले आर्यनको सुस्ताएको करिअरलाई उचाई दिन्छ भन्ने थियो सोही चलचित्रहरुले आर्यनलाई असफलताको ट्याग भिराइरहेका छन्।
आर्यन आफ्नो चलचित्रको बजेट धेरै हुने भएकाले लगानी उठाउन गाह्रो हुने बताउँछन्। उनले भने ‘यो मेरो ब्याडलक नै भन्नुपर्छ, मैले जुन चलचित्रमा काम गर्छु त्यो चलचित्रको बजेट बढी हुन्छ। त्यसैले बक्स अफिसमा हिट हुन्न। नत्र त मेरो चलचित्रहरुको कमाई औसत हिट नै हुन्छ।’ उनी आफूले गरेको क्यारेक्टरले पाउने प्रशंसाबाट भने खुसी छन्।
त्यसैले आफूलाई हेर्ने दर्शक नघटेको उनको दाबी छ। केही सफल र असफल काम गर्दा भईहाल्छ उनी भन्छन्।