काठमाडौं– सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन्। मन्त्रिपरिषद्ले गत साता स्वीकृत गरेको राष्ट्रिय शिक्षा नीतिमा यस्तो व्यवस्था गरिएको छ।
यसअघि शिक्षकलाई बढुवाको व्यवस्था थिएन। यो व्यवस्था कार्यान्वयनमा आएपछि तल्लो तहमा कार्यरत शिक्षक कार्य सम्पादनको आधारमा माथिल्लो तहमा पनि बढुवा हुन पाउनेछन्। तर यसको लागि न्युनतम शैक्षिक योग्यता भने पुगेको हुनुपर्छ। बढुवा गर्दा शिक्षकको सक्षमता, अनुभव, शैक्षिक योग्यता र कार्य दक्षतालाई आधार मानिने शिक्षा मन्त्रालयले जनाएको छ।
यसअघि एकै तहमा लामो समयसम्म पढाइरहेका शिक्षकलाई अनुभवको आधारमा ग्रेडवृद्धि गर्ने व्यवस्था रहे पनि माथिल्लो तहमा बढुवा हुन पाउने अवसर दिएको थिइएन। शिक्षा नीतिमा सार्वजनिक विद्यालयको गुणस्तर बढाउन पाँच वर्ष भित्रमा विषय शिक्षको व्यवस्था गर्ने र शिक्षक दरबन्दी कमी हुने समस्यालाई समाधान गर्न प्रदेश तथा स्थानीय सरकारलाई समेत शिक्षक नियुक्त गर्न दिने उल्लेख छ।