एजेन्सी — चीनको इ–कमर्स कम्पनी अलिबाबाको हालसम्मकै सबैभन्दा उच्च ‘सिंगल डे सेल’ बनेको छ।
अलिबाबाले ‘सिंगल डे सेल’ मा एक दिनभित्र ३८.४ अर्ब डलरको ब्यापार गरेका छन्। गत वर्षभन्दा यस वर्ष २७ प्रतिशतले वृद्धि भएर ४३ खर्ब रुपैयाँको बिक्री भएको छ। सन् २०१८ मा सिंगल डे सेल्स ३० अर्ब डलर रहेको थियो।
अलिबाबाले यो वर्ष सिंगल डे सेलमा जति कमाए, अमेरिकी कम्पनी अमेजनको दुई महिनामा त्यति बिक्री हुन्छ। अमेरिकी गायक टेलर स्विफ्टको प्रस्तुतीसहित आइतबार राती १२ बजे (चीनको समयानुसार) सुरु भएको अलिबाबाको अनलाइन सेल सोमबार मध्य रातमा समाप्त भयो।
कम्पनीले एक सेकेन्डमा पाएको अर्डरको आँकडाको रेकर्ड ५.४४ लाख पुग्यो। यो सन् २००९ को तुलनामा १३६० गुणा बढी हो। कम्पनीले यसै वर्ष सिंगल डे सेल सुरु गरेको थियो।
विश्लेषकले १० प्रतिशत ग्रोथको अपेक्षा गरेका थिएः
यस वर्षको एक दिने व्यापार यसकारण पनि महत्वपूर्ण छ किनभने अलिबाबा हंगकंगको शेयर बजारमा लिस्टिङका लागि आइपिओमार्फत् १५ अर्ब डलर जुटाउने योजनामा काम गरिरहेको छ। सिंगल डे सेलको आँकडाले आइपिओका लगानीकर्तालाई प्रलोभन देखाउनका निम्ती सहयोगी हुनसक्ने अनुमान गरिएको छ।
अमेरिका–चीनबीच व्यापार युद्ध र चीनको अर्थव्यवस्थामा मन्दीका कारण अलिबाबा यो वर्ष दबाबमा परेको छ। विश्लेषकले सिंगल डे सेलमा पनि यो वर्ष १० प्रतिशतको वृद्धि अपेक्षा गरिरहेको थियो तर २७ प्रतिशत रहेको छ।
सन् २००९ मा अलिबाबाले चीनमा सिंगल डे सेलको सुरुवात गरेको थियो। यो दिन ११ नोभेम्बर यसकारण निश्चित गरिएको थियो किनभने यो मितिमा ११११ अर्थात् चारपटक सिंगल आउने गर्दछ। अलिबाबाको सिंगल डे संसारको सबैभन्दा ठूलो अनलाइन सेल बन्न सफल भएको छ।
अमेरिकामा यस्तै प्रकारको सेल साइबर मन्डेमा गत वर्ष ७.९ अर्ब डलरको बिक्री भएको थियो।