काठमाडौं_ भारतीय पर्यटकलाई बन्धक बनाएर लुटपाट गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर–१२ का कांग्रेस नेता दिलबहादुर दोङ पनि रहेका छन्र।
उनीहरुलाई प्रहरीले एक साता अघि पक्राउ गरेर चोरी, डाँका सम्बन्धी कसूरमा मुद्दा चलाए पनि घटनालाई गुपचुप राखिएको थियो।
महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोषसिंह राठौरले प्रारम्भमा १२ जनालाई पक्राउ गरिए पनि चार जनाको संलग्नता नदेखिएपछि छाडिएको बताए।
अनुसन्धान अधिकृतका अनुसार दिल्लीबाट घुम्न आएको ६ जनाको समूहमा रहेका मध्ये ३ जनालाई उनीहरुले ट्याक्सीमा हालेर उत्तरढोकामा रहेको एउटा कोठामा बन्धक बनाएका थिए। त्यहाँ शारीरिक यातना समेत दिइएको पीडितले दिएको जाहेरीमा उल्लेख छ।
पीडितले साँझ स्पाका लागि निस्किएका वेला अपहरणको शैलीमा लगेर करिब डेढ लाख रुपैयाँ भारु लुटिएको बताएका छन्। रकमसँगै मोबाइल पनि लुटिएपछि त्यही दिन भागेर उनीहरु भारततिर पुगेका थिए।
व्यक्ति पक्राउ परेपछि उनीहरुले नेपाल आएर जाहेरी दिएका थिए। यो समूह विदेशी पर्यटकको लुटपाटमा संलग्न पेशेवर गिरोह भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी राठौर बताउँछन्।