एजेन्सी–स्पेनिस राष्ट्रिय फुटबल टोलीका प्रभावशाली खेलाडी डेभिड भिल्लाले सक्रिय खेलजीवनबाट सन्यास लिने घोषणा गरेका छन्। उनले अर्को महिना जापानी लिगको समाप्तिसँगै खेलजीवनबाट सन्यास लिने घोषणा गरेका हुन्। ३७ वर्षीय स्ट्राइकर भिल्ला अन्तर्राष्ट्रिय फुटबलमा स्पेनका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्।
भिल्ला करिब १९ वर्षदेखि अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय छन्। स्पेनले सन् २०१० मा फिफा विश्वकप र सन् २००८ मा युरो कपको उपाधि चुम्दा उनी टोलीको महत्वपूर्ण खेलाडी थिए। उनले सन् २०१० देखि सन् २०१३ सम्म स्पेनिस क्लब बार्सिलोनाबाट पनि व्यावसायिक फुटबल खेलेका थिए।
बार्सिलोनामा रहँदा उनले क्लबलाई दुई पटक स्पेनिस ला लिगाको उपाधि चुमाएका थिए। यसका अतिरिक्त उनले क्लबलाई च्याम्पियन्स लिगको उपाधि पनि जिताएका थिए। च्याम्पियन्स लिग युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो। ‘म निकै लामो समयदेखि सन्यास लिने उपयुक्त समयको प्रतीक्षामा थिएँ’, भिल्लाले भनेका छन्, ‘मेरो विचारमा सक्रिय खेलजीवनबाट बिदा लिने यो उपयुक्त समय हो।’
भिल्लाले कसैको दबाबमा नपरी आफूले स्वेच्छाले सन्यास लिएको पनि स्पष्ट पारेका छन्। भिल्ला यसै वर्ष जे लिग क्लब भिसेल कोबेमा आबद्व भएका हुन्। कोबेमा आबद्व हुनुअघि उनी मेजर लिग सकर क्लब न्युयोर्क सिटीबाट व्यावसायिक फुटबल खेल्थे। न्युयोर्क सिटीमै रहँदा उनले केही समय लोनमा अस्ट्रेलियन क्लब मेलबर्न सिटीका लागि पनि खेलेका थिए।
भिल्लाले स्पेनका लागि ९८ खेल खेल्दै ५९ गोल गरेका छन्। उनले स्पेनका लागि तीनवटा फिफा विश्वकप खेलेका छन्। सन् २०१०–११ सिजनको च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनाले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई ३—१ ले हराउँदा टोलीका लागि तेस्रो गोल उनले नै गरेका थिए।